मंगलवार, पौष १३ २०७८
काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय - परिक्षा विद्यार्थीहरुको लागि जीवन मरण को लडाइ जस्तै हो। बा आमा ले लगानी गरेर बर्ष भरी पढेको ज्ञानको प्रतिफल परिक्षाको नतिजा हो।
परिक्षाको नतिजा कारण कैयौं विद्यार्थीहरु मानसिक तनाबमा हुन्छन् । तर त्रिभुवन बिश्वबिद्धालयमा विद्यार्थी हरुले एक बर्ष पढेर परिक्षा दिएको कापी हरु प्राध्यापकले घरमा लगेर हराएको कुरा बाहिर आएको छ।
जसले, विद्यार्थीलाई सबै भन्दा ठूलो कुरा परिक्षा हो र अनिवार्य पास हुनपर्छ भन्दै सिकाउछ। ती नै प्राध्यापक जाँच गर्नु पर्ने कपि लगेर हराउछ भने के हुन्छ? प्राध्यापक र नैतिकता यसको खोजी हुनपर्छ कि पर्दैन? सिक्ने जिम्मेवारी कि सिकाउने जिम्मेवारी ? प्रमाणित कुरा के हो भने सिक्ने भन्दा सिकाउने जिम्मेवारी। तर सिकाउने नै गैर जिम्मेवारी बने के हुन्छ?
जाँच गर्न लगेका उत्तरपुस्तिका प्राध्यापकले समयमै फिर्ता नगर्दा त्रिभुवन विश्वविद्यालयले गर्ने परीक्षाको नतिजा प्रकाशनमा ढिलाइ हुने गरेको छ ।
बिश्वबिद्धालयको नियम अनुसार सामान्यतया परीक्षा सम्पन्न भएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्ने हुन्छ । तर, स्नातक तहका केही विषयको परीक्षा सकिएको एक वर्ष बितिसक्दा पनि नतिजा प्रकाशन भएको छैन ।
त्रिविको यस्तो कमजोरीको कारण विद्यार्थीमा मानसिक असर पर्ने गरेको छ । स्नातक तह दोस्रो वर्षको केही विषयको परीक्षा गत फागुनमै सकिएको थियो । सोही तहका केही विषयको परीक्षा गत भदौमा सम्पन्न भएको थियो ।
परीक्षा सञ्चालन भइरहँदा कोरोना सङ्क्रमण फैलिएपछि जारी गरिएको बन्दाबन्दीका कारण बाँकी परीक्षा भदौमा सारिएको थियो ।
दोस्रो वर्षको परीक्षा दिएर तेस्रो वर्षको पढाइसमेत सकिइसकेको छ । तर, अघिल्लो वर्षकै नतिजा नआउँदा आफूहरूलाई तनाव भएको विद्यार्थीको गुनासो छ । कलङ्कीस्थित सिद्धार्थ मल्टिपल कलेजमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत कविता सुवेदीले भन्नुभयो, “दोस्रो वर्षको परीक्षा दिएको एक वर्ष हुन लाग्दा पनि नतिजा आएको छैन । तेस्रो वर्षको पढाइ सकिइसक्यो । अब कहिले परीक्षा दिएर नतिजा आउने हो । त्रिविको पारा सम्झँदा पनि दिक्क लाग्छ । ”
परीक्षा नियन्त्रक पुष्पराज जोशीले नतिजा सार्वजनिक गर्न अझै केही साता लाग्ने जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयमा काम गर्ने कर्मचारी अभावका कारण समयमै नतिजा सार्वजनिक गर्न नसकिएको हो । उहाँले कार्यालयमा हाल रहेका कर्मचारीमध्ये सबै सूचना प्रविधिमा अभ्यस्त नहुँदा पनि समस्या आएको जानकारी दिनुभयो ।
प्राध्यापकबाट उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणमा ढिलो हुँदा पनि समयमै नतिजा प्रकाशन गर्न नसकिएको हो । उहाँले भन्नुभयो, “तुलनात्मक रूपमा परीक्षणभन्दा सम्परीक्षणमा बढी समस्या हुने गरेको छ । ” एक जना प्राध्यापकले परीक्षण गरेको उत्तरपुस्तिका अन्य प्राध्यापकबाट पुनः परीक्षण गरिने कार्य सम्परीक्षण हो ।
पनिकाकै गोप्य शाखाका एक कर्मचारीका अनुसार कुनै विषयमा प्राध्यापकले सम्परीक्षण गर्न लगेको उत्तरपुस्तिका तीन महिनासम्म पनि फिर्ता नगर्ने प्रवृत्ति छ । यस्तो समस्या व्यवस्थापन सङ्कायअन्तर्गतका विषयमा धेरै छ ।
कतिपय अवस्थामा प्राध्यापकले उत्तरपुस्तिक परीक्षण गर्न घर लगेर अन्य व्यक्तिलाई नै परीक्षण गर्न लगाउने गरेको गुनासो पनि त्रिविमा छ । घरमा लगेको उत्तरपुस्तिका हराएपछि विद्यार्थीको दोहो–याएर परीक्षा गरिएको उदाहरण पनि त्रिविमा प्रशस्तै छ । तर, यस्तो घटनामा पनिकाका पदाधिकारी खुलेर प्राध्यापकको विरोध गर्न सक्दैनन् ।
केही वर्षअघि पब्लिक युथ क्याम्पसमा अध्ययनरत विद्यार्थीको उत्तरपुस्तिका हराएपछि दोहो–याएर परीक्षा सञ्चालन गरिएको थियो ।
कर्मचारी अभावको समस्या समाधानका लागि विश्वविद्यालय नेतृत्वलाई पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ भएको छैन । परीक्षा नियन्त्रक जोशीले भन्नुभयो, “अब छिट्टै कर्मचारी अभाव पूर्ति गर्ने आश्वासन पाएको छु । कर्मचारी पाएको तीन महिनाभित्रमा सबै नतिजा सार्वजनिक गर्छु । ” गोरखापत्र