मंगलवार, पौष १३ २०७८
जाजरकोट- भेरी नगरपालिका जाजरकोटमा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा मेला लगाउनको लागि पाँच दिन विद्यालय बन्द गरिएको छ ।
धेरै वर्षदेखि लाग्दै आएको मेला लगाउनको लागि विद्यालयको प्राङ्गण विद्यालय व्यवस्थापन समितिले दिने निर्णय गरेकोले विद्यालय सोमबार (हिजो)देखि शुक्रबारसम्म बिदा दिइएको छ ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख अमृत पुनले जानकारी दिए अनुसार विद्यालय व्यवस्थापन समितिले स्थानीय बिदा गर्न पाउने अधिकार उपयोग गर्दै बिदा दिएको बताए ।
उनले भने ‘धेरै वर्ष अघिबाट लाग्दै आएको मेला लगाउनको लागि विद्यालयको प्राङ्गण दिने र विद्यालय बिदा दिने व्यवस्थापन समितिले दिने निर्णय गरेको रहेछ ।’
जाजरकोटको पहिचानको रुपमा स्थापित पुस १५ को मेला स्थानीय उत्पादनसँग जोडिएको भएर विद्यार्थीले पाठ्यक्रम पढ्न नपाए पनि स्थानीय उत्पादनबारे सिक्ने अवसर पाउने पुनले जिकिर गरे ।
‘विद्यालयमा लगाउने नलगाउने भन्ने विषय बहस कै विषय हो । पाठ्यक्रम छुट्यो त्यो पनि ठिक हो तर सिकाईसँगै सम्बन्धित छ मेला’ उनी थप्छन् ‘मेलाले स्थानीय उत्पादनको प्रर्वर्द्धन, सांस्कृतिक गतिविधि हुने भएकोले यो सिकाईसँग जोडिएको विषय हो । यसबाट बालबालिकाले धेरै कुरा सिक्छन् भन्ने हो ।’
विद्यालयको प्राङ्गण मेला लगाउन दिएबापत विद्यालयले ५० हजार लिएको जानकारी पाएको पुनले बताए ।