बुधवार, पौष १४ २०७८
सुनसरी - इटहरी उप-महानगरपालिका २ स्थित चन्द्र मेमोरियल इङ्लिस स्कुलमा १० बर्सिया छात्रालाई होमवर्क नगरिएको भन्दै निर्घात कुटपिट गरिएको छ ।
कम्प्युटर शिक्षक सुजन दाहालले पाँच कक्षामा अध्ययनरत छात्रा सुरक्षा तामाङ माथि कुटपिट गरेका हुन्।
पीडित बालिकाले भनिन् , "सरले पाँच बक्सिङ हिर्काउनुभयो दुख्यो भन्दा पनि छोड्नुभएन” । बालिकाको पाखुरामा नीलडाम प्रस्ट सँग देख्न सकिन्छ । उनको पाखुरा सुन्निएको समेत छ ।
यता विद्यालयले भने कुटपिट गर्ने शिक्षक दाहालको बचाउ गरेको पीडित बालिकाकी आमा वीरमाया तामाङले बताइन् । उनले कुटपिट गर्ने शिक्षकलाई कारबाहीको समेत माग गरेकी छिन् ।
यस विषयमा विद्यालयका प्रधानाध्यापक देवकुमार दाहाललाई सम्पर्क गर्दा शिक्षकबाट कुटपिट हुनु गलत भएको र आफूहरू विद्यालयको तर्फबाट पीडित बालिकाको परिवार सङ्गको छलफलमा रहेको बताए ।