शुक्रवार, पौष १६ २०७८
काठमाडौं - यो वर्षको एसईई परीक्षा वैशाखमा हुने भएको छ । कोभिडका कारण शैक्षिकसत्र पछि सरेकाले परीक्षाको मिति पनि पछि सर्न लागेको हो । गत वर्ष जेठ १३ बाट शुरू भएको थियो । यो वर्ष चैतसम्म अध्ययन गर्ने वातावरण तयार गरी वैशाखमा गर्ने गरी तयारी भइरहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले चैतसम्म पठनपाठन गरी वैशाखमा एसईई गर्ने गरी छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘कुन मोडलमा कहिलेबाट गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’ सरोकारवालासँग अनौपचारिक छलफल गर्दा वैशाखमा परीक्षा लिने विषयमा मन्त्रालयले तयारी गरेको उहाँको भनाइ छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भने परीक्षाको विषयमा छलफल नभएको बताउनुभयो । उहाँका अनुसार सोलगायत अन्य विषयमा छलफल गर्न आइतबार बोर्डको बैठक बोलाइएको छ । मन्त्रालयले बोर्ड अध्यक्ष नियुक्ति गरेपछि उहाँको अध्यक्षतामा पहिलो बैठक बस्न लागेको हो ।
यसअघि, बोर्डका सदस्य सचिव दुर्गा अर्यालसहितको बैठकले एसईई परीक्षाको मिति तय गर्ने विषयमा सरकारी विद्यालयका प्रधानाध्यापकसँग छलफल गरेको थियो । सो क्रममा प्रअहरूले चैतभर पठनपाठन गर्ने र वैशाखमा परीक्षा लिने गरी तयारी गर्नुपर्ने सुझाव दिएका थिए । बोर्ड का एक सदस्यका अनुसार एसईई परीक्षा चाँडोमा चैत अन्तिम नभए वैशाख पहिलो साता हुने गरी तयारी भइरहेको छ ।
अध्यक्ष शर्माले सो विषयमा आइतबार बस्ने बोर्ड बैठकमा छलफल हुने बताउनुभयो । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई परीक्षा खारेज गर्न निर्देशन दिएपछि शिक्षामन्त्री देवेन्द्र पौडेलले अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउन लागि पर्नुभएको छ । यही सरकारले संघीय शिक्षा ऐन ल्याएर एसईई खारेज गर्ने गरी अघि बढेको एक कर्मचारीले बताए ।
ऐन खारेज नभएसम्म एसईई परीक्षा खारेज गर्न नसकिने बुझेपछि मन्त्री पौडेल अध्यादेशबाट ऐन ल्याउने पक्षमा रहनुभएको छ ।
सरकारले गत वर्ष शिक्षा नियमावली संशोधन गरी आन्तरिक मूल्यांकनबाट परीक्षा लिने निर्णय गरेको थियो । सोही आधारमा जेठमा परीक्षा सञ्चालन भएको थियो । मन्त्रालयका प्रवक्ता शर्माका अनुसार यो वर्ष कसरी गर्ने भन्ने निर्णय बोर्डले गर्नेछ भन्नुभयो ।
गत वर्ष राष्ट्रिय परिक्षा बोर्डले तयार गरेको कार्यविधिको आधारमा परीक्षा सञ्चालन भएको थियो । उता शिक्षक सेवा आयोगको परीक्षा चैत १५ बाट शुरू हुने भएकाले एसईई परीक्षा मिति सार्न आग्रह गरेको छ। सोही आधारमा परीक्षाको मिति पछि सर्ने स्थिति आस्को समेत बताए ।
शिक्षक सेवा आयोगले १५ देखि २० सम्म परीक्षा मिति तय गरेको थियो । आयोगको आग्रहमा एसईई परीक्षा वैशाखमा हुने लगभग पक्का भएको छ । परीक्षाको मोडल र विधिको बारेमा आइतबार बस्ने बोर्डले निर्णय गर्ने तयारी गरेको छ ।