शुक्रवार, माघ ७ २०७८
चितवन, : भरतपुर महानगरपालिकाले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्न सिपमुलक तथा सरकारी सेवामा प्रतिस्पर्धी बनाउन लोक सेवा र शिक्षक सेवा आयोगहरुकोको तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।
प्राविधिक तालिम लिएर तत्काल रोजगार गर्न चाहने र सरकारी सेवामा प्रवेश गर्न चाहने दुवै वर्गका युवालाई निःशुल्क रुपमा कक्षा र तालिम दिन लागिएको हो ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरभित्रका युवाहरुलाई आफूले इच्छा व्यक्त गरे अनुसार विभिन्न तयारी कक्षा र तालिम दिन लागिएको जानकारी दिईन् ।
महानगरपालिकाले १८ वर्ष उमेरदेखि ४० वर्ष सम्मका युवालाई मागका आधारमा सीपमूलक तालिम अन्य सेवा आयोगको तयारीका लागिसमेत सहयोग गर्न लागिएको उनको भनाइ छ ।महानगरले गत पुस २७ गते १५ दिनको सूचना जारी गरी इच्छा अनुसारको आवेदन भर्न आह्वान समेत गरिसकेको छ ।
मेयर दाहालले भनिन्,“आर्थिक अभावका कारण युवा तालिम र तयारी कक्षाबाट वञ्चित हुनुपर्दैन ।”आर्थिक अभावका कारण प्रतिश्पर्धामा कोही पनि पछि नपरुन भन्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको दाहालले बताईन् । उनका अनुसार आधारभूत सीपमूलक तालिम लिएपछि सोही अनुसारको काम गर्नका लागि महानगरले सहयोग गर्ने छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले आवेदन प्राप्त भएपछि ईच्छा अनुसारको तालिम र तयारी कक्षा सुरु गरिने बताए ।
महानगरले तत्कालका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ ।रकम अपुग भएमा थप गरी कार्यक्रम प्रभावकारी बनाइने सुवेदीको भनाइ छ । तालिम र कक्षाका लागि विषय विज्ञ झिकाइने छ । नतिजा प्राप्त हुने गरी काम गरिने उनले बताए ।
निवेदन सङ्कलन हुँदै गर्दा महानगरपालिकाले व्यावसायिक सीपमूलक तालिमको लागि साझेदार संस्थासँग छलफल अघि बढाएको छ । उनले भने,“यहाँका युवाको चाहना अनुसार तयारी कक्षा वा सीपमूलक तालिम दिन्छौं ।”