Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिवि स्ववियु सभापतिको प्रश्न ! ‘विश्वविद्यालयको नेतृत्व कसरी अगाडि बढिरहेको छ?’

त्रिवि स्ववियु सभापतिको प्रश्न ! ‘विश्वविद्यालयको नेतृत्व कसरी अगाडि बढिरहेको छ?’

  • 126
    SHARES

  • त्रिवि स्ववियु सभापतिको प्रश्न ! ‘विश्वविद्यालयको नेतृत्व कसरी अगाडि बढिरहेको छ?’

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा बैठक निर्धारित समयमा बस्न नसकेको तथा विश्वविद्यालयका महत्वपूर्ण शैक्षिक र प्रशासनिक प्रक्रिया प्रभावित भएको भन्दै विश्वविद्यालय क्याम्पस कीर्तिपुरका स्ववियु सभापति दीपकराज जोशीले प्रश्न उठाएका छन्।

    २०८३ असारमै बस्नुपर्ने त्रिभुवन विश्वविद्यालयको सभा बैठक अहिलेसम्म बस्न नसक्नु, सभाबाट पारित हुनुपर्ने नीति तथा कार्यक्रम र वार्षिक बजेट अगाडि बढ्न नसक्नु गम्भीर विषय भएको जोशीको भनाइ छ।

    त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० ले सभा बैठक बस्ने मितिभन्दा कम्तीमा १५ दिन अगावै बैठकसम्बन्धी सूचना तथा कार्यसूची सदस्यहरूलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै उनले असोज २२ गते हुने भनिएको सभा बैठकबारे समेत सदस्यहरूलाई औपचारिक जानकारी नगराइएको दाबी गरेका छन्।

    जोशीले विश्वविद्यालयको ग्रेस लिस्ट हजारौँ विद्यार्थीको अध्ययन, मेहनत र वर्षौंको शैक्षिक यात्रासँग जोडिएको महत्वपूर्ण प्रक्रिया भएको बताए। विद्यार्थीले हासिल गरेको उपाधिलाई औपचारिक रूपमा स्वीकार गर्ने प्रक्रियादेखि नीति तथा कार्यक्रम र बजेटसम्मका विषय नियमित प्रक्रियाबाट अघि बढ्नुपर्ने उनको भनाइ छ।

    ‘ग्रेस लिस्टदेखि नीति तथा कार्यक्रम र बजेटसम्मका विषयलाई हल्का ढंगले लिएर विश्वविद्यालयको नियमित प्रक्रिया छलेर ल्याउन खोज्नुले प्राज्ञिक थलोको गरिमामाथि प्रश्न उठाउँछ,’ जोशीले भने।

    त्रिभुवन विश्वविद्यालयका नियुक्तिमा प्रधानमन्त्रीको भूमिका रहने तर विश्वविद्यालयका सांगठनिक, प्रशासनिक र शैक्षिक गतिविधिमा आवश्यक जिम्मेवारी निर्वाह हुन नसकेको भन्दै जोशीले कुलपति प्रधानमन्त्री हुने व्यवस्था अन्त्य गर्नुपर्ने आवाज आफूहरूले उठाउँदै आएको बताए।

    उनले प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिले उच्च शिक्षाप्रतिको राज्यको जिम्मेवारी र विश्वविद्यालयको नेतृत्व प्रणालीमाथि प्रश्न खडा गरेको बताए।

    ‘प्रश्न सभा बैठक कहिले बस्ने मात्र होइन, प्रश्न त्रिभुवन विश्वविद्यालयको नेतृत्व कसरी अगाडि बढिरहेको छ, विश्वविद्यालयको स्वायत्तता कसरी सुनिश्चित गर्ने र उच्च शिक्षाप्रति राज्यले आफ्नो जिम्मेवारी कसरी पूरा गरिरहेको छ भन्ने हो,’ जोशीले भने।

    images
    बिहिवार, आश्विन १५ २०८३०६:१८:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार