मंगलवार, कार्तिक ४ २०७७
कोरोना महामारीका बेला पनि मेडिकल कलेज सञ्चालकहरूले पैसा माग्दै विद्यार्थी र अभिभावकलाई धम्की दिने गरेको चिकित्सा शिक्षा संघर्ष समितिले बताएको छ। चितवन मेडिकल कलेज संघर्ष समितिका संयोजक प्रकाश चन्द र काठमाडौं विश्वविद्यालय चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता नरेश भट्टले शनिबार संयुक्त रूपमा प्रेस विज्ञप्ति निकालेर महामारीको विषम परिस्थितिमा पनि अनावश्यक ढंगले विभिन्न शुल्क मागेको उल्लेख गरेका हुन्। मेडिकल कलेजका अमानवीय र घृणित व्यवहारप्रति राज्यको गम्भीर ध्यानाकर्षण हुनुपर्ने उनीहरूको माग छ। मेडिकल कलेजका मालिकहरूले यस्तो आर्थिक जटिल परिस्थितिमा विद्यार्थी र अभिभावकहरूलाई फोन गरी पैसा माग्ने र धम्की दिनेजस्ता घृणित कार्यप्रति संघर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनीहरूले भनेका छन्। मेडिकल कलेजले यसअघि उठाएका अतिरिक्त शुल्क समायोजन गर्ने सहमति भएको भन्दै उनीहरूले सबै विद्यार्थीलाई डीनको कार्यालयले तोकेको आधिकारिक शुल्क बुझाउन पनि अनुरोध गरेका छन्। ‘चोरी गरे जसरी हैन। नैनिकतासहित विश्वविद्यालय वा डिनको कार्यालयले तोकेको शुल्क बुझाउन अनुरोध गर्दछौं,’ उनीहरूले निकालेको विज्ञप्तिमा भनिएको छ। ‘बेड शुल्क, ल्याब शुल्क, ओपिडीलगायत शुल्क चरम रूपमा बढाएको तर अस्पतालमा कार्यरत कर्मचारीलाई कुनै पनि सेवा तथा तलबभत्तामा वृद्धि नगरेको साथै कोरोन संक्रमित बिरामी अस्पतालमा आउँदा अन्य बिरामी संख्या घट्ने र भने जति पैसा कमाउन नपाउने भन्ने मनस्थितिले गर्दा कोरोना संक्रमित बिरामीले केहि मेडिकल कलेजमा मृत्युवरण गर्नुपरेको घटना हाम्रा अगाडि छ,’ चन्द र भट्टले निकालेको विज्ञप्तिमा भनिएको छ।