सोमवार, माघ १९ २०७७
१९ माघ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो ।
यसअघि आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो । प्रकाशित नतिजा अनुसार १ जनाको रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ । कोरोना महामारीबीच ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी थिए ।
वैशाख/जेठमा नै लिइने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण मंसिरमा मात्रै सञ्चालन गरिएको थियो । कक्षा १२ को परीक्षा गत मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन भएको थियो । संक्षिप्त परीक्षाको प्राप्तांक शिक्षकले जथाभावी पठाएपछि नतिजा प्रकाशनमा ढिलाइ भएको थियो ।
बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो ।
चाँडो नतिजा प्रकाशित गर्न विद्यालयमै विषय शिक्षकले उत्तरपुस्तिका परीक्षण गरेका थिए । विद्यार्थीको प्राप्तांक बोर्डको प्रदेश कार्यालयहरूबाटै नजिता प्रकाशनको सिस्टममा इन्ट्री गराउने व्यवस्था मिलाइएको थियो ।
अब विद्यार्थीलाई बोर्डले नै ग्रेडसिटलगायतको प्रमाणपत्र दिनेछ । कक्षा १२ को नतिजामा ढिलाइ भए पनि विश्वविद्यालयहरूले स्नातक तहमा भर्ना खोलिसकेका छन् । २०७५ सालदेखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिका आधारमा हुँदै आएको छ ।
नतिजा हेर्नको लागि एनटीसी सिमबाट १६०० मा डायल गरेर नतिजा हेर्न सकिने छ । यसका लागि NEBSymbol No. टाइप गरी 1600 मा एसएमएस पठाउनुपर्ने हुन्छ ।
त्यसैगरी www.neb.gov.np / www.neb.ntc.np बाट पनि नतिजा हेर्न सकिने छ |
