बुधवार, मंसिर ३ २०८३
काठमाडौं । स्कुल एसोसिएसन अफ नेपाल (सान) ले विद्यालयको नेतृत्वलाई थप प्रभावकारी, जिम्मेवार र व्यवहारिक बनाउने उद्देश्यले विद्यालयका प्रिन्सिपल, निर्देशक तथा सञ्चालकहरूका लागि लिडरसिप तथा माइन्डफुलनेस तालिम सम्पन्न गरेको छ।
सानले कात्तिक २० गते स्वयम्भूस्थित क्वालिटी दरबार ब्याङ्क्वेटमा आयोजना गरेको एकदिने तालिममा सानअन्तर्गतका विद्यालयका करिब ५० जना प्रिन्सिपल, निर्देशक तथा सञ्चालकहरूको सहभागिता रहेको थियो।
सानका अध्यक्ष दिलिप रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव तथा दसंसान स्कुलका प्रिन्सिपल बाबुराम गौतमले वर्तमान शैक्षिक परिवेशमा विद्यालय नेतृत्व केवल प्रशासनिक जिम्मेवारीमा सीमित नरहेको बताउनुभयो। प्रभावकारी नेतृत्वका लागि शान्त, संयमित, सभ्य र व्यवहारिक नेतृत्वशैली आवश्यक रहेको उल्लेख गर्दै उहाँले नेतृत्वकर्तामा आत्मसचेतना र मानसिक सन्तुलन विकास गर्न माइन्डफुलनेस महत्वपूर्ण हुने धारणा राख्नुभयो।
कार्यक्रममा अध्यक्ष रेग्मीले सानले विद्यार्थी र अभिभावकलाई लक्षित कार्यक्रमसँगै विद्यालयका सञ्चालक, लगानीकर्ता तथा निर्देशकहरूको क्षमता अभिवृद्धि र नेतृत्व विकासका लागि पनि विभिन्न प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।
तालिमको सहजीकरण मोटिभेटर, स्पिकर, लाइफ कोच तथा प्रशिक्षक आर. मानन्दर राजेन्द्र मानन्दरले गर्नुभएको थियो। उहाँले सहभागीहरूलाई प्रभावकारी नेतृत्व, आत्मसचेतना, मानसिक सन्तुलन, सकारात्मक सोच, तनाव व्यवस्थापन तथा व्यवहारिक निर्णय क्षमतासम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो।
विजयादशमी, शुभदीपावली, छठ तथा नेपाल संवत्को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमसँगै तालिम सञ्चालन गरिएको थियो।
कार्यक्रमको अन्त्यमा सानका उपाध्यक्ष प्रकाश मरासिनीले सहभागी तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।