मंगलवार, चैत्र २८ २०७९
चैत, २८ काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिकसत्रमा आफुखुसी शुल्क नबढाउन निर्देशन दिएको छ। मन्त्रालयले शैक्षिकसत्र २०८० को विद्यार्थी भर्ना गर्दा निजी लगानीका विद्यालयहरूलाई यस्तो निर्देशन दिएको हो।
शिक्षा मन्त्रालयले जारी गरेको बिज्ञप्तिमा केही निजि शिक्षण संस्थाले अत्यधिक शुक्ल बढाएको प्रती लक्षित गर्दै प्रचलित कानूनको अधिनमा रही सम्बन्धित स्थानीय तहले स्वीकृत गरिदिएको सीमाभित्र रहेर तोकिएका शीर्षकहरूमा मात्र शुल्क लिन पाउने स्मरण गराउँदै मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
विद्यालयले स्वीकृत भएको शुल्कको विषयमा पारदर्शी ढङ्गले सबै अभिभावकहरूलाई जानकारी गराउनु पर्ने र अभिभावकहरूले तोकिएको शुल्कको स्वीकृतिको विषयमा प्रश्न गर्न पाउने तथा त्यस विषयमा विद्यालय रहेको स्थानीय तहमा गुनासो गर्न पाउने व्यवस्था समेत बिगतका वर्षहरूदेखि नै अभ्यासमा आइसकेको हुँदा विद्यार्थी भर्ना र शुल्कका विषयमा आफ्ना गुनासोहरू भए सोही अनुसार राख्न अभिभावकहरूलाई जानकारी समेत गराएको छ ।
यसका साथै शैक्षिक सत्र २०८० मा शुरु हुने विद्यालयमा विद्यार्थी भर्ना अभियानसँगै निजी लगानीका विद्यालयले शुल्क, सार्वजनिक विद्यालयको भर्नासँग सम्बन्धित विषय तथा विद्यालयहरूमा पाठ्यपुस्तकको उपलब्धता र विकी वितरणका विषयमा जिल्ला तहमा आवश्यक परामर्श र सहजीकरण समेत गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्र मार्फत् नियमित रूपमा जानकारी पठाउनु हुन समेत सम्बन्धित सबै शिक्षा विकास तथा समन्वय इकाईहरूलाई निर्देशन दिएको छ ।
