मंगलवार, बैशाख १९ २०८०
बैशाख, १९ काठमाडौ । सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन गर्ने विद्यार्थीले यसै बर्षदेखी निःशुल्क पाठ्यपुस्तक पाउने भएका छन् । जनक शिक्षा सामग्री केन्द्रले अंग्रेजी माध्यमको पाठ्यपुस्तक छपाइ सुरु भएकाले जेठ मसान्तसम्म विद्यार्थीले नि:शुल्क पाठ्यपुस्तक पाउने भएका हुन् ।
पाठ्यक्रम विकास केन्द्रले अंग्रेजी माध्यमको पुस्तकको छपाइ प्रति तयार गरेर जनक शिक्षालाई उपलब्ध गराइ पाठ्यपुस्तक छाप्न थालिएको बताइएको छ। यसअघि अंग्रेजी माध्यमका छपाइ हुन नसक्दा विद्यार्थीले निजी प्रकाशनबाट किन्नुपर्ने अवस्था थियो ।
अंग्रेजी माध्यमका छपाइ हुन नसक्दा विद्यार्थीले निजी प्रकाशनबाट किन्नुपर्ने अवस्था थियो । निजी प्रकाशनका पुस्तक सरकारले उपलब्ध गराउनेभन्दा महँगो भएकाले विद्यार्थी, अभिभावकले थप मूल्य तिर्नुपर्थ्यो ।
पाठ्यक्रम विकास केन्द्रले कक्षा १ देखि १० मा नेपाली र अंग्रेजी विषय यथावत रहन्छन् भने यसबाहेक नेपालीमा रहेका पाठ्यपुस्तकलाई अंग्रेजी अनुवाद गरी उपलब्ध गराउन लागेको हो । कक्षा १–३ मा ‘मेरो गणित’ र ‘हाम्रो सेरोफेरो’, कक्षा ४–८ मा गणित, विज्ञान तथा प्रविधि, सामाथिक अध्ययन तथा मानव मूल्य शिक्षा र स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला अंग्रेजीमा अनुवाद गरिएका छन् । त्यस्तै कक्षा ९–१० को गणित, विज्ञान प्रविधि र सामाजिक अध्ययन विषय अंग्रेजीमा अनुवाद गरिएका छन् ।
केन्द्रका अनुसार अंग्रेजी माध्यमका ४५ हजार सेटभन्दा बढी पुस्तक आवश्यक हुने अनुमान गरिएको छ ।
नेपाल सरकारले सामुदायिक विद्यालयमा कक्षा १२ सम्म नेपाली माध्यमका पाठ्यपुस्तक निःशुल्क वितरण गर्दै आएको छ ।