सोमवार, जेठ ८ २०८०
जेठ, ८ काठमाडौ । सिन्धुलीको मरिण गाउँपालिका विवाह अघि स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ प्रदान गर्न थालेको छ। बालविवाह न्यूनीकरणका लागि छात्राहरुलाई प्रोत्साहन गर्न गाउँपालिकाले यस्तो गर्न थालेको हो।
नेपालको कानुन अनुसार बालबालिका दुबैको लागि २० वर्ष पुगिसकेपछि विवाह गर्न उपयुक्त उमेर भनि तोकिएको छ ।
मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार बाल विवाह गरे वा गराएमा विवाह स्वतः बदर हुने, साथै कसुर गर्ने जो कोही व्यक्तिलाई तीन वर्ष सम्म कैद र तीस हजार सम्म जरिवाना हुने कानूनी व्यवस्था गरिएको छ। विवाह गर्ने उमेर विवाह गर्ने व्यक्तिको (महिला र पुरुष दुवैको) बीस वर्ष हदम्याद हो भने बाल बिवाह भएको थाहा पाएको मितिले ३ महिना सम्म बाल विवाहको उजुर दिन सक्ने समेत व्यवस्था रहेको छ ।
बालविवाह रोकथामका लागि सरकारी तथा गैरसरकारी सङ्घ–संस्थाले करोडौँ खर्च गरिरहेका छन्, यद्यपि यसले केही मात्रामा न्यूनीकरण भए पनि पूर्णरूपमा भने हुन सकेको छैन। यसको पूर्ण कार्यान्वयनका लागि मरिण गाउँपालिका सिन्धुलीले विवाहअघि स्नातक तह (बीए) उत्तीर्ण गर्ने छात्रालाई प्रोत्साहनस्वरूप एक लाख रुपैयँ प्रदान गर्न थालेको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ बताउनुभयो । उहाँका अनुसार मरिणका स्थानीय विद्यार्थी जसले स्थानीय विद्यालय, क्याम्पसमा अध्ययन गरेका छन्, उनीहरू यसका लाभग्राही हुने र गाउँपालिकाको शिक्षा सुधार कार्यक्रमअन्तर्गत सुरु गरिएको यस कार्यक्रमले बालविवाह न्यूनीकरण हुनेछ बिश्वास गरिएको छ।
यस कार्यक्रमले स्थानीय विद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउन र किशोरी, महिलालाई उच्चशिक्षा पढ्नका लागि प्रोत्साहन हुनेछ ।