शुक्रवार, आषाढ १ २०८०
असार, १ - काठमाडौ महानगरले रोक लगाएपछी हिसान एडु फेयर संचालन हुने वा नहुनेमा अन्योल भएको छ। महानगरले नतिजा अगाडिनै मेलाका नाममा विद्यार्थीहरुलाई लोभ्याउदै भर्ना गर्न दबाब दिएको र महानगर संग अनुमती नलिएको भन्दै अन्योलमा परेको हो।
शिक्षा विभागका प्रमुख सीताराम कोइरालाका अनुसार भर्ना अवधि सुरु हुनु अगाडि विद्यार्थीहरुलाई प्रभाव पार्ने खालका क्रियाकलाप गराउन कानुनले निषेध गरेको बताए। उनले एसइई र कक्षा १२ को परीक्षाफल कुरेर बसिरहेका विद्यार्थी लक्षित मेलामा उनिहरुको व्यक्तिगत विवरण टिप्ने, शैक्षिक प्रतिष्ठानका विषयमा जानकारी दिने लगायत काम भएको र फेयरमा आएका विद्यार्थी तथा अभिभावकहरुलाई, विवरण टिपाएर छात्रवृत्ति उपलब्ध गराउने लोभ देखाउदै भर्ना गर्न दवाब दिएको भन्दै बन्द गरेको बताए।
बिहीबार अपरान्ह ५ बजे हिसानका पदाधिकारीले काठमाडौ महानगरपालिका शिक्षा विभागसँग वार्ता गरेका थिए। वार्ताका क्रममा हिसानका पदाधिकारीले आफूहरुले प्रि-रजिष्ट्रेसन नगर्ने, भर्नासँग जोडिएका कुनै पनि कार्य नगर्ने, विषयका बारेमा मात्र जानकारी गराउने प्रतिबद्धता व्यक्त गरे ।
यसरी प्रतिबद्धता व्यक्त गरेको कुरा सामाजिक सञ्जालमार्फत महानगर शिक्षा विभाग प्रमुख कोइरालाले बालेनलाई सन्देश पठाए । महानगर प्रमुख बालेनले प्रतिउत्तर लेखेर पठाए– ‘नो’ ।
शिक्षा विभाग प्रमुख कोइरालाले भने, “प्रमुखले ‘नो’ भन्नुभएकोले आज पनि मेला हुने सम्भावना रहेन । उहाँले ‘हुन्छ’ नभन्दासम्म मेला सञ्चालन हुनसक्ने अवस्था रहँदैन ।”
फेयर संचालन हुने नहुने बारे काठमाडौ महानगरले आज शुक्रबार विहान १० बजे सार्वजनिक सूचना जारी गर्ने बताइएको छ। बिशेष शुत्रका अनुसार सार्वजनिक सुचना जारी गरेर मेला स्थगित भएको जानकारी दिने सम्भावना धेरै रहेको बताइएको छ।
मेला आयोजकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति लिएका थिए । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक नहुँदै मेला सञ्चालन गर्न अनुमति दिइनुले मन्त्रालयका पदाधिकारी र निजी विद्यालयका सञ्चालकबीचको गठजोर छताछुल्ल भएको छ । विद्यालय तह स्थानीय तहको अधिकार भए पनि सङ्घीय निकायले हस्तक्षेप गर्न खोज्दा पालिकाले आफ्नो ‘शक्ति’ प्रदर्शन गरेको यो घटनालाई विशेष रूपमा हेरिएको छ ।
यद्यपि हिसानका अध्यक्ष रमेश सिलवालले आफूहरू कानुनतः दर्ता भई सञ्चालनमा रहेको, नियमानुसार राजस्व तिरेको र मेलाबारे केन्द्र सरकारका सम्बन्धित निकायबाट स्वीकृति लिएको तथा महानगरपालिककालाई जानकारी दिइएकाले स्थगन नगर्ने बताए।
उनले मेलामा हस्तक्षेप गर्ने अधिकार महानगरपालिकालाई नभएको जिकिर गरे। सो मेलाको उद्घाटन प्रतिनिधिभसभाका सभामुख देवराज घिमिरेले गरेका थिए।