मंगलवार, आषाढ २६ २०८०
असार, २६ काठमाडौँ — सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले विगत ३९ दिनदेखि जारी राखेको रिले अनशन स्थगित गरेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा शिक्षक–कर्मचारीका संगठनबीचको वार्तामा विद्यालय कर्मचारीको तलबमान कायम गर्ने विषयलाई संघीय शिक्षा ऐनमा समावेश गर्ने सहमतिपछि आन्दोलन स्थगित भएको हो।
विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले उक्त ऐन निर्माणका लागि सरकारले संघीय संसद्को यही अधिवेशनमा पेस गर्ने र ऐनमै तलबमान उल्लेख गर्ने सहमतिपश्चात् आन्दोलन स्थगित गरेको जानकारी दिए ।
तलबमान तय गर्दा लेखापाललाई खरिदार सरह र कार्यालय सहायकलाई श्रेणीविहीन सरहको सुविधा उल्लेख गर्ने सहमति भएको र उक्त सहमतिको प्रतिवेदन वार्ता समितिले शिक्षामन्त्री अशोककुमार राईलाई केहीबेर अघि बुझाएको छ । शिक्षा मन्त्रालयले सो प्रतिवेदनका आधारमा अर्थ मन्त्रालयलाई सिफारिस गर्नेछ ।
विद्यालय लेखापालले १३ हजार पाँच सय र कार्यालय सहायकले आठ हजार रुपैयाँ पाउँदै आएका छन् । ऐन आउन ढिलाइ भएमा सोही सरहको सुविधा सरकारले उपलब्ध गराउने र महँगी भत्ता पनि दिने सहमति भएको महासचिव योगीले बताए । वार्तामा नेपाल शिक्षक महासङ्घका पदाधिकारी पनि सहभागी छन् ।
मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो ।