मंगलवार, श्रावण १६ २०८०
साउन, १६ गते काठमाडौ । संघीय शिक्षा ऐन आज संसदमा पेस हुने भएको छ। २०२८ सालमा तत्कालीन राजा महेन्द्रको पालामा शिक्षा ऐन अर्थात ५२ बर्ष पश्चात् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रियतामा आज मंगलबार विधेयक प्रतिनिधिसभाको बैठकमा पेस गर्ने तयारी भएको हो ।
यस अघि संविधान जारी भएको झन्डै आठ वर्षसम्म पनि जारी हुन नसकेको संघीय शिक्षा ऐनको विधेयक आज संसद्मा पेस हुने तयारीमा पुगेको छ । ऐनले शिक्षकको सरुवा, बढुवा, काज, कारबाहीको अधिकार प्रदेश सरकारलाई दिने, निजी शैक्षिक संस्थाको दायित्व र पालना गर्नुपर्ने नयाँ व्यवस्था, शिक्षक दरबन्दी मिलान, ०७४ यता भर्ना भएका शिक्षक व्यवस्थापन, सरकारी शैक्षिक संस्था र विश्वविद्यालयको व्यवस्थापन, निःशुल्क शिक्षा कार्यान्वयन, शिक्षामा स्थानीय तहको भूमिका, शिक्षकको औषधि–उपचारलगायत विषय समेट्ने शिक्षा मन्त्रालयले जनाएको छ । यसअघिको शिक्षा ऐन, २०२८ (आठौँ संशोधन २०७३)ले विद्यमान शैक्षिक प्रणालीलाई पर्याप्त रूपमा समेट्न नसकेको र पुरानो भइसकेको भन्दै पटक–पटक नयाँ ऐन निर्माणको आवाज उठ्दै आएको थियो ।
शिक्षा मन्त्रालयले ४ असारमा विधेयकको मस्यौदा मन्त्रिपरिषद्मा पेस गरेको थियो । क्याबिनेटबाट विधायन समितिमा पुगेको ऐन मंगलबार बस्ने प्रतिनिधिसभामा पेस गरिने छ । ‘प्रधानमन्त्रीज्यूको भनाइअनुसार पनि मंगलबार सो विधेयक संसद्मा पेस हुने तयारीमा छ,’ मन्त्रालयका सहसचिव डा. हरि लम्सालले भने, ‘समग्रमा ऐन चित्तबुझ्दो रहेको पाइएको छ, अब चित्त नबुझ्ने कुरामा माथिल्लो निकायमा छलफल हुन्छ अनि मात्रै पास हुनेछ ।’ उनका अनुसार सरकारपिच्छेका फरक–फरक धारणा, सरकारी संयन्त्रलगायत कारणले ऐन जारी गर्न ढिलाइ हुँदै आइरहेको छ ।