सोमवार, श्रावण २२ २०८०
साउन, २२ काठमाडौँ । चाबहिल स्थित सेन्ट लरेन्स कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ। आइतबार राष्ट्रिय नाचघर जमलको हलमा आयोजित एक कार्यक्रमका बिच उक्त कलेजले अभिमुखीकरण सम्पन्न गरेको हो।
कार्यक्रम सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालको सभापतित्व तथा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा रहेको थियो। उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा काठमाडौँ महानगरपालिका वडा न ७ का वडा अध्यक्ष विमल कुमार होडा, काठमाडौँ महानगरपालिका शिक्षा विभागका यमनाथ चौलागाईं, उत्प्रेरक वक्ता रविन कटुवाल लगाएत कलेजका फ्याकल्टी प्रमुख, शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।

अभिमुखिकरण कार्यक्रम कक्षा ११ र १२ का कोर्डिनेटर तथा मुकुन्द ढुंगानाले संचालन गर्नुभयो। उहाँले कलेजको छोटो परिचय सहित विगत २५ वर्षदेखि प्लस टु मा निरन्तर आफूलाई अब्बल साबित गर्दै आएको कलेजले कार्यक्रम मार्फत २६ औँ ब्याचलाई स्वागत गरेको बताउनुभयो।
कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक तारा प्रसाद सुवेदीले स्वागत मन्तव्य मार्फत नवआगन्तुक विद्यार्थीहरु तथा अतिथिहरुलाई स्वागत गर्नुभयो। उहाँले SEE उत्तीर्ण भई भर्ना हुन आएका सबै विद्यार्थीलाई बधाई र आगामी शैक्षिक यात्राका लागि शुभकामना दिनुभयो। साथै उहाँले विद्यार्थीहरु लहडमा नभै आफ्नो रुचिको विषय हृदय देखिनै रोजेर पढ्न सुझाव समेत दिनुभयो।
अभिमुखिकरण कार्यक्रमका विशेष अतिथि काठमाडौँ महानगर शिक्षा विभाग प्रमुख यमनाथ चौलागाईंले विद्यार्थीले सेन्ट लरेन्स जस्तो उत्कृष्ट शैक्षिक संस्था छानेको भन्दै बधाई दिए । सेन्ट लरेन्सले विभिन्न परीक्षाहरूमा उत्कृष्ट नतिजा निकालेको भन्दै उनले आगामी दिनमा पनि त्यो कायम रहने विश्वास व्यक्त गरे। चौलागाईंले महानगर शिक्षा विभागका विभिन्न गतिविधि र योजनाहरू बारे पनि कार्यक्रममा जानकारी गराउनुभयो। त्यसैगरी अतिथि विमल कुमार होडाले देशले आजका विद्यार्थीहरूबाट धेरै आशा गरेको भन्दै विद्यार्थीहरुले आफ्ना आमाबुबा, आफ्नो सपना पूरा गर्न मिहिनेत गरि पढ्नुपर्ने बताउनुभयो।
कार्यक्रममा बिशेष अतिथि तथा उत्प्रेरक वक्ता (Motivational Speaker) रबिन कटवालले विद्यार्थीलाई उत्प्रेरणामुलक भनाइहरु मार्फत अभिमुखिकरण गर्नुभयो। उहाँले जीवनमा सफल हुन र संसार जित्न कठिन मिहेनत गर्नुपर्ने भन्दै हेलन केलरको जीवनको एउटा प्रसङ्गको अति सान्दर्भिक उदाहरण मार्फत विद्यार्थीहरुलाइ उत्प्रेरित गर्नुभयो। साथै थुप्रै कठिनाइ र चुनौती पार गर्दै आफ्नो क्षेत्रमा सफलता हासिल गरेका बिश्वबिख्यात व्यक्तिहरूको उदाहरण र उनीहरूको संघर्ष सहित सफलताको कथा प्रस्तुत गर्दै विद्यार्थीलाइ ऊर्जा प्रदान गर्नुभयो। उहाँले धैर्यता नै विद्यार्थीका लागि अपरिहार्य तत्त्व भएको हुँदा जीवनमा धैर्यता नगुमाउन उनले विद्यार्थीलाई सुझाव दिए।

त्यसैगरी कार्यक्रममा प्रमुख अतिथि कुमारी मोक्तानले गुणस्तरीय शिक्षा खोज्न धेरै बिदेसिएको प्रति चिन्ता व्यक्त गर्दै उनले लगानी अनुसारको प्रतिफल ल्याउँदै नेपालमै गुणस्तरीय शिक्षा व्यवस्था गर्न अपिल गर्नुभयो। साथै व्यवहारिक शिक्षाको आवश्यकता खड्किएको भन्दै उनले प्रदेश सरकारले त्यसका लागि ठुलो छलफल अगाडी बढाएको बताइन् ।
अभिमुखिकरण कार्यक्रमको अन्त्यमा सभापति तथा सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालले ७७ वटै जिल्लाबाट सेन्ट लरेन्स कलेजलाइ बिश्वास गर्दै कक्षा ११ मा पढ्न आउनुभएका विद्यार्थीहरुलाइ धन्यवाद तथा उज्ज्वल भविष्यको शुभकामना दिनुभयो। उहाँले अन्तर्निहित प्रतिभाको विकास गर्दै देशलाई योगदान दिन सक्ने जनशक्तिका रूपमा विकास गर्ने प्रतिबद्धता उनले व्यक्त गर्नुभयो। सेन्ट लरेन्स एउटा फूलबारी भएको र त्यस फूलबारीमा राम्रो फुल फुल्नका लागि चाहिने राम्रो माटो, माली, उर्वर वातावरण आदि सबै भएका कारण उत्कृष्ट शैक्षिक गन्तव्य भएको उहाँले बताउनुभयो। साथै विद्यार्थीहरुलाई प्रदान गर्दै आएको गुणस्तरीय र जीवन उपयोगी शिक्षामा कुनै किसिमको सम्झौता नगर्ने धारणा ब्यक्त गर्नुभयो।
अभिमुखिकरण कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक पहिचान झल्किने नृत्य तथा गायन हरु प्रस्तुत गरेका थिए।
सेन्ट लोरेस कलेजले कक्षा ११ को पठनपाठन आगामी साउन २४ गते देखि संचालन गर्ने भएको छ।








