बुधवार, भाद्र ६ २०८०
भदौ, ६ काठमाडौ । अनावश्यक मागहरु तेर्स्याउदै बिश्वबिद्धालयमा तालाबन्दी गर्ने संस्कृति अझै सम्म हटेको छैन। कुनैपनी रचनात्मक आन्दोलनको कल्पना समेत नगरी एक मात्रै विकल्प तालाबन्दी रोज्ने संस्कृतिले उनिहरुको चेतनास्तरको मापन त गर्छनै त्यो भन्दापनी बिश्वबिद्धालयको नियमित पठनपाठन र प्रशासनिक कामकाजमा भने अत्यन्तै नकारात्मक अपर पर्ने गरेको छ।
चाहे विद्यार्थी संगठनको नाममा होस या कर्मचारीको नाममा, बिश्वबिद्धालयमा निरन्तर हुने तालाबन्दिले बिश्वबिद्धालयको शैक्षिक क्यालेन्डर लागू नहुने मुख्य कारण बनेको छ। नतिजा समयमै प्रकाशित नहुने, बिश्वबिद्धालयले अन्य रचनात्मक गतिविधिको बारे सोच्न नसक्ने, विद्यार्थीहरुलाइ नियमित पठनपाठनमा समस्या हुने र त्यसको अन्तिम परिणाम नतिजामा देखिने प्रमुख कारण बिश्वबिद्धालयमा हुने तालाबन्दी नै हो।
एकातिर विश्वविद्यालयजस्तो प्राज्ञिक क्षेत्रमा राजनीतिक भागवन्डा अर्कोतिर नेपालका बिश्वबिद्धालयहरुमा अनावश्यकरुपमा गरिने तालाबन्दीका कारण विशवविद्यालय धरासायी हुँदै गएको छ ।
नेपालका धेरै बिश्वबिद्धालयको समस्या बनेको तालाबन्दी हाल आएर नेपाल संस्कृत बिश्वबिद्धालय र सुदूरपश्चिम बिश्वबिद्धालयमा देखा परेको छ।
बिगत बैशाख १९ गते विभिन्न माग राख्दै नेविसंघले गरेको तालाबन्दी खुल्ने बित्तिकै त्यसको पाँच दिन नबित्दै माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) ले दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा सोमबार फेरि तालाबन्दी गरिदिएको छ ।
कार्यालयको मुल ढोकामा टाँसिएको माग पत्रमा ३ महिनाभित्र दीक्षान्त समारोह गर्नुपर्ने, विश्वविद्यालयको कार्यकारी परिषद र पदाधिकारीमा लोकतान्त्रिक समूहको उपस्थिति हुनुपर्ने, सेवा आयोगको पुनर्गठन तथा कर्मचारी छानबिन गर्नुपर्ने, दरबारमार्ग अवस्थित छात्रावासको सटर भाडाबाट प्राप्त आम्दानीको ३० प्रतिशत रकम छात्रावास विकास लागि खर्च गर्नुपर्ने माग राख्दै करिब तीन महिना पछि पुन : अखिल क्रान्तिकारीले सेवा आयोगको अधिकार लोक सेवा आयोगलाई दिने निर्णय फिर्ता लिनुपर्ने माग गर्दै पुन: तालाबन्दी गरिदिएको हो ।
त्यसैगरी सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय ३८ दिनदेखि बन्द छ भने परीक्षा नियन्त्रण र सहनियन्त्रकको कार्यालयमा २२ दिनदेखि तालाबन्दी छ ।
बिश्वबिद्धालयको केन्द्रीय कार्यालयमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेको बताइएको छ।
त्यसैगरी नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी सङ्गठन अनेरास्ववियूले पनि समाजशास्त्रको छैटौँ सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्नपत्र ‘हुबहु’ दोहोरिएको र भागबन्डामा गरिएका नियुक्ति खारेजीको माग गर्दै तालाबन्दी गरेको छ । बिगत ३८ दिनदेखिको तालाबन्दीले विश्वविद्यालयका कामकाज अत्यन्तै प्रभावित भएका छन्।
विश्वविद्यालयको कार्यकारी परिषद्बाट विभिन्न आङ्गिक क्याम्पसमा तथा केन्द्रीय विभागमा रिक्त रहेको क्याम्पस प्रमुख र विभाग प्रमुखको विषयलाई लिएर विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ।
एमाले निकट अनेरास्ववियुले सहमतिमा ताला खोले पनि अरु विद्यार्थी सङ्गठनको ताला हालसम्म खुल्न सकेको छैन। अन्य विद्यार्थी सङ्गठनले बिश्वबिद्धालयले गरेको नियुक्ति खारेजीको माग राखेका छन् । उनिहरुले विश्वविद्यालयले नियमसङ्गत गरेको नियुक्त खारेज नहुने भएपछि पटक–पटक वार्ता र संवाद हुँदा पनि निष्कर्षमा पुग्न सकिएको छैन।
विश्वविद्यालयमा भएको तालाबन्दी महिनाभन्दा बढी हुँदासमेत विश्वविद्यालय सञ्चालन गर्न कसैले चासो लिएको पाइँदैन। विश्वविद्यालयले गरेका हरेक निर्णयमा जहिले पनि तालाबन्दी हुने गरेको छ। यसअघि पनि विश्वविद्यालयमा नौ महिनासम्म तालाबन्दी गरिएको थियो।
विद्यार्थी सङ्गठनले भने आफूहरूका माग पूरा नभएसम्म तालाबन्दी खोल्न नसक्ने बताएका छन्। राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष प्रेम रावलले एक महिनासम्म तालाबन्दी हुँदासमेत विश्वविद्यालयका पदाधिकारीले कुनै चासो नदिएको बताए। “विश्वविद्यालयमा राजनीतिक भागवन्डा अन्त्य हुनुपर्छ”, उनले भने , “माग पूरा नभएसम्म ताल खुल्दैन।”
एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियू कञ्चनपुरका संयोजक रमेश पन्तले समाजशास्त्र छैटौँ सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्नपत्र ‘हुबहु’ दोहोरिएकाले तालाबन्दी गरेको बताए । “विश्वविद्यालयका पदाधिकारीले आफ्नो कार्यकाल सकिने बेला आर्थिकलाभ हुने गरी आङ्गिक क्याम्पसको सम्बन्धन दिएका छन्”, उनले भने, “विश्वविद्यालयले गरेका अवैध नियुक्ति खारेज हुनुपर्छ ।”
विश्वविद्यालयसँग कुनै माग भए वार्ता र संवादका माध्यमबाट सामाधान गर्नुको साटो लामो समयसम्म बन्द, हडताल हुनु दुःखद् भएको सुदूरपश्चिम विश्वविद्यालयका पूर्वडीन डा टेकराज पन्त बताउछन् । “राजनीतिले हाम्रा संस्थालाई दुस्प्रभावित गर्दै आएको छ”, उनले भने, “विश्वविद्यालयमा प्राध्यापक कर्मचारीको राजनीतिक संलग्नताले पनि विवाद हुने गरेको छ ।"
पटक पटक बिश्वबिद्धालयमा तालाबन्दी नगर्ने घोषणा गर्ने विद्यार्थीसंगठन्हरु आफ्नो निहित स्वार्थ पुरा गर्न आफ्नो अडानमा कहिले बस्न सक्दैनन् जसको प्रत्यक्षमारमा बिश्वबिद्धालय र विद्यार्थीहरु पर्ने गरेको छन।
तालाबन्दी प्रती तपाइको प्रतिक्रियाके छ?