बुधवार, भाद्र २७ २०८०
भदौ, २७ काठमाडौँ । प्रस्तावित बिद्यालय शिक्षाऐन २०८० को बिरोधमा राहत शिक्षकहरुले आपत्ति जनाउदै आन्दोलनको लागि आह्वान गरेका छन्। प्रस्तावित बिद्यालय शिक्षा बिधेयक- २०८० संसदमा दर्ता भए लगत्तै राहत शिक्षक संघका अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईँले बिज्ञपति जारी गर्दै आन्दोलनका लागि आह्वान गरेका हुन्।
विद्यालय शिक्षा बिधेयक २०८० संसदमा (दर्ता नं ८) भएसँगै अस्थायी प्रकृतिका शिक्षकलाई स्थायी गरेको सामान्य नजिरलाई पनि हेक्का नराखी सामुदायिक विद्यालय, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर ध्वस्त पार्ने मनसायले देशभर कार्यरत ४० हजार राहत शिक्षकको पेसागत भविष्य माथि कुठाराघात गर्नेगरी सीमित शैक्षिक माफियाहरुको झुण्डले यो विधेयक तयार गरेको नेपाल राहत शिक्षक केन्द्रिय समितिले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।
विभिन्न समयमा भएको बार्ता र छलफलमा ‘सम्बन्धित निकायले हाम्रा माग अधिकतम सम्बोधन हुने मौखिक आश्वास दिँदै आएकाले हामीले संसदमा दर्ता भइन्जेल सम्मलाई पर्ख र हेर को नीति अवलम्बन गरेका थियौ’, विज्ञप्तिमा लेखिएको छ ।
