शनिवार, आश्विन १७ २०८३
काठमाडौँ । प्रतिनिधिसभामा सांसद रहबर अन्सारीले वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबारे गम्भीर आरोप लगाएपछि कलेज प्रशासनले त्यसप्रति कडा आपत्ति जनाएको छ।
सांसद अन्सारीले प्रतिनिधिसभामा बोल्दै नेशनल मेडिकल कलेजमा अध्ययनरत पोस्ट ग्र्याजुएट विद्यार्थीहरू विगत १० दिनदेखि आन्दोलनमा रहेको उल्लेख गरेका थिए। आन्दोलनमा रहेका विद्यार्थीलाई होस्टेल खाली गर्न लगाइएको, अस्पतालमा काम गर्न नदिइएको तथा कलेजको गेटबाट प्रवेश गर्नसमेत रोक लगाइएको उनको भनाइ थियो।
अन्सारीले विद्यार्थीहरूले कलेजमा भइरहेको भनिएको अनियमितता र चिकित्सा शिक्षासम्बन्धी गतिविधिबारे आवाज उठाएको दाबी गरेका थिए। उनले कलेजमा करिब २५ जना ‘फेक फ्याकल्टी मेम्बर’ तथा काम नगर्ने र नक्कली प्रोफेसर देखाएर चिकित्सा शिक्षा सञ्चालन भइरहेको आरोपसमेत संसदमा लगाएका थिए।
त्यस्तै, चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा कलेज व्यवस्थापनले अस्पतालका सुरक्षा गार्डलाई समेत बिरामीका रूपमा प्रस्तुत गर्ने गरेको आरोप उनले लगाएका थिए। निरीक्षणलाई प्रभाव पार्न ‘नक्कली बिरामी’ तयार पारिएको उनको दाबी थियो।
अन्सारीले परीक्षा प्रणालीमा समेत गम्भीर आर्थिक अनियमितता हुने गरेको आरोप लगाएका थिए। उनका अनुसार एउटा विषय पास गराउन नेपाली विद्यार्थीसँग तीन लाख रुपैयाँ र विदेशी विद्यार्थीसँग पाँच लाख रुपैयाँसम्म लिने तथा उत्तरपुस्तिकामै उत्तर लेखेर पास गराउने गरेको आरोप विद्यार्थीहरूले लगाएका छन्।
‘नक्कली डाक्टर, नक्कली बिरामी अनि नक्कली निरीक्षणको नाममा राज्यमा यसरी घोर धन्दा चलिरहेको छ,’ अन्सारीले संसदमा भनेका थिए।
उनले यस्ता गतिविधिले विद्यार्थीको भविष्य मात्र नभई भविष्यमा स्वास्थ्य सेवाको गुणस्तर र बिरामीको सुरक्षामै गम्भीर जोखिम निम्त्याउन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।
अन्सारीले विगतमा शक्तिको प्रभावका कारण सम्बन्धित सरकारी निकायले समेत यस्ता विषयमा प्रभावकारी कारबाही गर्न नसकेको आरोप लगाए। चिकित्सा शिक्षा आयोग, विश्वविद्यालयका सम्बन्धित निकाय, जिल्ला प्रशासन र सुरक्षा निकायसमेत प्रभावमा पर्ने गरेको उनको दाबी थियो।

आन्दोलनरत पोस्ट ग्र्याजुएट विद्यार्थीहरूको भविष्य अन्योलमा पार्न नहुने भन्दै अन्सारीले राज्यले उनीहरूको व्यवस्थापनको जिम्मा लिनुपर्ने बताएका थिए। आवश्यक परे अन्य मेडिकल कलेजमा उनीहरूको अध्ययन निरन्तरता सुनिश्चित गर्नुपर्ने उनको माग थियो।
कलेजको कडा आपत्ति
अन्सारीको उक्त अभिव्यक्तिप्रति नेशनल मेडिकल कलेजले विज्ञप्तिमार्फत कडा आपत्ति जनाएको छ। कलेजले सांसदबाट प्रतिनिधिसभामा व्यक्त गरिएका आरोप तथा टिप्पणीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
कलेजले आफू २००१ देखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन हुँदै आएको र चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम), नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य मन्त्रालयका नियामकीय मापदण्ड र नियमित अनुगमनअन्तर्गत चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ।
कलेज प्रशासनले अन्सारीले उठाएका आरोपहरू हालसम्म कुनै पनि अधिकारप्राप्त नियामक वा सरकारी निकायबाट पुष्टि नभएको दाबी गरेको छ।
‘माननीय सांसदज्यूद्वारा उठाइएका आरोपहरू हालसम्म कुनै पनि अधिकारप्राप्त नियामक वा सरकारी निकायबाट पुष्टि भएका छैनन्,’ कलेजको विज्ञप्तिमा उल्लेख छ।
कलेजले आफू तथ्यमा आधारित, निष्पक्ष तथा पारदर्शी परीक्षणका लागि सदैव तयार रहेको जनाएको छ। सम्बन्धित निकायलाई आवश्यक सम्पूर्ण कागजात तथा अभिलेख उपलब्ध गराउनसमेत आफू प्रतिबद्ध रहेको कलेजको भनाइ छ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवा संवेदनशील क्षेत्र भएकाले आधारहीन तथा अपुष्ट टिप्पणीले विद्यार्थी, अभिभावक, चिकित्सक, कर्मचारी र सेवाग्राही बिरामीमा अनावश्यक भ्रम तथा अविश्वास सिर्जना गर्न सक्ने कलेजले जनाएको छ।
कलेजले सार्वजनिक मञ्चबाट तथ्यपरक विषय मात्र सम्प्रेषण गर्नसमेत आग्रह गरेको छ। साथै, आफ्नो संस्थागत साख, गुणस्तरीय चिकित्सा शिक्षा, सुरक्षित बिरामी सेवा र कानुनी मापदण्डको पालनाप्रति आफू दृढ र प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।