शनिवार, भाद्र ३० २०८०
भदौ, ३० काठमाडौ । एभरेस्ट इनोभेटिभ कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत र कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई तथा अभिनन्दन कार्यक्रम गरेको छ। महानगर वडा नं. १३ सोल्टिमोड स्थित EIC ले शनिबार कमलादीस्थित प्रज्ञाभवनमा एक भव्य कार्यक्रमको आयोजना गरि स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रम संचालन ब्याचलर कोर्डिनेटर किशोर काफ्लेले गर्नुभयो भने कलेजका अध्यक्ष शंकर दुलाल सभापती, प्रोफेसर डा. कृष्णहरि बराल (साहित्यकार) प्रमुख अतिथिको रुपमा रहनु भयो। बिशेष अतिथिको रुपमा अभिभावक रमेश रुपाखेती, कलेजका सिइओ हरिप्रसाद काफ्ले, प्रशासन प्रमुख रामप्रसाद पौडेल, क्याम्पस चिफ दिपक झा, ब्यबस्थापन कोर्डिनेटर गोपाल प्रसाद दुलाल, बिज्ञान कोर्डिनेटर सुदर्शन श्रेष्ठ, लगाएत बिभागिय प्रमुखहरु, शिक्षक र कर्मचारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम औपचारिक र अनौपचारिक दुई सत्रमा सम्पन्न भयो। औपचारिक शत्रमा कार्यक्रममा प्रमुख अतिथि साहित्यकार प्रा. डा. कृष्णहरि बरालले विद्यार्थीहरुलाई उत्प्रेरक मन्तव्य दिनुभयो। उहाँले एभरेस्ट इनोभेटिभ कलेजका विद्यार्थीहरु पढाई संगसंगै अन्य अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट भएको सुन्दा खुशी लागेको भन्दै कलेजको प्रशंसा गर्नुभयो। कक्षा १२ मा A+ ल्याउने विद्यार्थीहरु स्नातक तहमा समेत बिश्वबिद्धालय टपर भएको सुन्दा खुशी छु तर कक्षा १२ पछि बिदेश जाने विद्यार्थीहरुले भने आफ्नो क्षमता चिन्न नसकेको बताउनुभयो। उहाँले नेपालमै क्वालिटी शिक्षा छ भने बिदेश जान नपर्ने धारणा ब्यक्त गर्नुभयो। त्यसैगरि विद्यार्थीहरुलाई पढाइ संगसंगै सिर्जनात्मक बिधामा समेत सुझाव दिनुभयो।

कार्यक्रममा कलेजका CEO हरिप्रसाद काफ्लेले शिक्षाका ६ वटा खम्बा - बिचार सहितको शिक्षा, सीप सहितको शिक्षा, संस्कार सहितको शिक्षा, उद्धमशिलता सहितको शिक्षा, देशभक्त (राष्ट्रप्रेम) शिक्षा र सकारात्मक मनोबिज्ञान सहितको शिक्षालाई शिरोधार्य गरेर अघि बढेको बताउनुभयो। १२ पछि बिदेश जाने हुटहुटी छोड्नुपर्ने भन्दै नेपालमै स्नातक तह सम्मको शिक्षा पुर्ण गरेर गयो भने काम समेत राम्रो पाइने र सहज हुने बताउनुभयो । उहाँले कक्षा ११ र १२ EIC मै पढेर स्नातक तहमा समेत EIC मै पढेका विद्यार्थीहरुले त्रिभुवन बिश्वबिद्धालय नै टप गरेको सुन्दा नेपाल भरिमै एभरेस्ट इनोभेटिभ कलेजको नाम स्थापित भएको धारणा ब्यक्त गर्नुभयो।
त्यसैगरी मन्तव्यकै क्रममा प्रशासन प्रमुख रामप्रसाद पौडेलले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई भन्दा पनि सम्मान गर्दै स्नातक तहमा अध्यायनको लागि स्वागत गर्न आतुर रहेको बताउनुभयो। पौडेलले विद्यार्थीहरु कलिलै उमेरमा बुझ्दै नबुझी बिदेश जाने क्रम बढेको प्रती चिन्तित हुँदै विश्वभरी प्रतिस्पर्धा गर्न सक्ने शिक्षा नेपालकै बिश्वबिद्धालयमा पढ्न पाइने भन्दै कक्षा १२ सकेर बिदेश जाने क्रम रोक्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

स्वागत तथा बिदाई कार्यक्रममा उत्कृष्ट नतिजा हाँसिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो। त्यसै क्रममा ब्यबस्थापन तर्फ कक्षा १२ मा ३.९ जिपिए ल्याएर बोर्ड टपर गर्ने विद्यार्थी सृष्टि जैसवाललाई सम्मान गरेको थियो। त्यसैगरी ब्यबस्थापन संकायका सृष्टि महर्जन ३.७५, सुजल महर्जन ३.७७, भावना कुमारी ३.७५, अशिम महर्जन ३.७३, दिलाशा खड्का ३.७३, प्रनिका श्रेष्ठ ३.७, अनु श्रेष्ठ ३.६५, रोहित चौधरी ३.६४, आरती श्रेष्ठ ३.६२, सुशान्त जिसि ३.७, उत्सव श्रेष्ठ ३.६२, उमेश थापामगर ३.७, अमित तामाङ ३.६८ जिपिए ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ।

त्यसैगरी बिज्ञान तर्फ कलेज टप गर्ने विद्यार्थी नितेश कुमार शाह ३.६८, बिराज श्रेष्ठ ३.६४, सुमिना तामाङ ३.६६, सृजन कार्की ३.६२ जिपिए ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ।
औपचारिक कार्यक्रमको अन्त्यमा कलेजका अध्यक्ष तथा कार्यक्रममा सभापति शंकर दुलालले हरेक बर्ष झन झन उत्कृष्ट कार्यक्रमहरु पस्किरहेका भन्दै नतिजा समेत अत्यन्तै राम्रो ल्याउन सकेकोमा हर्षित भएको बताउनुभयो। उहाँले विद्यार्थीहरुको उज्यालो भविष्यको लागि कलेजले अत्यन्तै मिहेनत गरेको र विद्यार्थीहरुले समेत कठिन मिहेनत गरेर पढेको प्रति खुसी ब्यक्त गर्नुभयो।
कार्यक्रमको दोश्रो तथा अनौपचारिक शत्रमा विद्यार्थीहरुले विभिन्न संस्कृतिक नृत्य, गायन तथा प्रहसनहरु प्रस्तुत गरेर आफ्नो प्रतिभाहरुको प्रस्फुटन गरेको थिए।