मंगलवार, फाल्गुण १ २०८०
फागुन १ गते काठमाडौँ । काठमाडौ बिश्वबिद्धालयमा (केयू) मा अन्तर्राष्ट्रिय उपकुलपति सभा हुने भएको छ। काभ्रेको धुलिखेलमा अवस्थित काठमाडौं विश्वविद्यालयमा आगामी बिहीबार र शुक्रबार उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा नेपाल-भारत उच्च शिक्षा शिखर सम्मेलनको आयोजना गरिएको हो।
काठमाडौ बिश्वबिद्धालयले आयोजना गर्ने उच्च - शिक्षा शिखर सम्मेलन तथा सभामा नेपाल, भारत, बंगलादेश, मलेसिया, थाइल्यान्डलगायत देशका १ सय ५० जना उपककुलपति र शिक्षाविद्को सहभागिता हुने केयूले जनाएको छ ।
भेला तथा सम्मेलनको बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै बिश्वबिद्धालयका उपकुलपति प्रा.डा भोला थापाले विश्वले उच्च शिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा, भूमण्डलीकरण र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण मूल विषय रहने बताउनुभयो। उहाँले सभा तथा सम्मेलनबाट उच्च शिक्षण संस्थाको भूमण्डकीकरणको प्रभाव पत्ता लगाउने, अन्तर्राष्ट्रिय सहयोग र विचारहरूको आदानप्रदानलाई प्रोत्साहन गरिने बताउनुभयो।
सभाले साझा सञ्जाल निर्माण, साझेदारी अभ्यास तथा पारस्परिक सहयोग आदानप्रदानको वातावरणसमेत बनाउने केयूले सोमबार पत्रकार सम्मेलन गरी जनाएको छ । ‘सभाले विशेष गरी दक्षिण एसियाली क्षेत्रका शैक्षिक समुदायहरूबीच सांस्कृतिक विचार आदानप्रदानलाई बढवा दिनेछ,’ केयूद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रभावकारी रणनीतिका बारेमा छलफल गर्नेछन्, जसमा विद्यार्थी आदानप्रदान, संयुक्त अनुसन्धान र पाठ्यक्रम विकाससहितका विषयहरू समावेश छन् ।’
अन्तर्राष्ट्रिय उपकुलपति सभामा ३ वटा प्राविधिक सत्रहरू सञ्चालन हुने जनाइएको छ । सहभागीहरूबीच अनुसन्धान साझेदारी, विद्यार्थी आदानप्रदान कार्यक्रम, संयुक्त डिग्री र प्राज्ञिक साझेदारीको फाइदाबारे छलफल हुने उल्लेख छ। दोस्रो सत्रमा नियमन र नीति निर्माणका साझा मुद्दाहरू, गुणस्तर, सुनिश्चितता तथा प्रत्यायन संयन्त्र, विदेशी मान्यता, सामन्जस्यजस्ता विषयमा छलफल गरेर विश्वव्यापी उच्च शिक्षामा नियमन र नीतिगत प्रस्टता पहिल्याउने प्रयास हुने र तेस्रो सत्रमा विद्यार्थीको गतिशीलता र त्यसको विविधताका अन्तर्राष्ट्रिय अनुभवबारे छलफल गरिने बिज्ञप्तिमा उल्लेख छ।
‘विश्वविद्यालयमा समावेशिता, सदासयता, सांस्कृतिक विविधताका विविध पक्षको शैक्षिक वातावरण विकास गर्दै वैश्विक तादात्म्य खोज्ने कार्य हुनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘आ–आफ्ना विशिष्ट अनुभव र दृष्टिकोणलाई उच्च शिक्षाको साझा समृद्धिमा रूपान्तरण गर्दै भूमण्डलीकृत संसारमा साझा सफलता खोज्नु, अन्तर्राष्ट्रिय उपकुलपति सभाको मुख्य उद्देश्य हो ।’
भारतीय विश्वविद्यालय संघको आयोजना तथा काठमाडौं विश्वविद्यालयको तत्त्वावधानमा कार्यक्रम आयोजना हुने जनाइएको छ । सन् १९२५ मा स्थापित संघ लामो र ऐतिहासिक विकासत बोकेको संस्था हो । यसमा केयूसहित बंगलादेश, भुटान, काजकस्तान, मलेसिया, मरिसस, थाइल्यान्ड, संयुक्त अरब, बेलायतका १३ विश्वविद्यालयहरू एसोसिएट सदस्य छन् । नेपालका विश्वविद्यालयका उपकुलपतिहरू पनि सभा तथा सम्मेलनमा सहभागी हुनेछन् ।
