बुधवार, फाल्गुण २३ २०८०
फागुन, २३ गते काठमाडौं- शिक्षमन्त्री सुमना श्रेष्ठले पदभार ग्रहण गरेकी छन्। शीतल निवासमा शिक्ष मन्त्रीको शपथ लिए लगत्तै बुधबार साँझ सिंहदरबारस्थित शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन्।
शिक्षा मन्त्रालयको पदभार सम्हाल्दै नवनियुक्त शिक्षामन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयमा राजनीतिक नेतृत्व बस्ने प्रावधान हटाएर प्राज्ञिक तथा विज्ञ व्यक्तित्वलाई राख्न आवश्यक काम अघि बढाउने निर्णय गरेकी छन् । साथै मन्त्री श्रेष्ठले ठूलो मात्रामा विदेश गइरहेका विद्यार्थी बारे सर्भे गर्ने र विश्वविद्यालय सुधारको कार्ययोजना बनाएर अगाडि बढ्ने बताएकी छन् ।
पदार ग्रहण गर्दै मन्त्री श्रेष्ठले 'नेपाली युवालाई नेपालमै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न त्रिभुवन विश्वविद्यालय लगायत संघीय कानुन अन्तर्गत स्थापना तथा सञ्चालनमा रहेको मौजुदा १३ वटा विश्वविद्यालय मध्ये ११ वटा विश्वविद्यालयमा रहेको कुलपति तथा सहकुलपतिको व्यवस्थालाई समसामयिक रूपमा परिमार्जन गर्दै विश्वविद्यालयको नेतृत्व प्राज्ञिक तथा विज्ञ व्यक्तित्वबाट हुने गरी कानुनी प्रबन्ध गर्न आवश्यक भएकोले मौजुदा विश्वविद्यालय सम्बन्धी ऐन तथा उच्च शिक्षा सम्बन्धी कानुनमा सोही बमोजिम सुधार गर्न आवश्यक व्यवस्थाको लागि प्रारम्भिक कामकारबाही अगाडि बढाउनेछ बताइन् ।
'सुरूदेखि नै मेरो प्राथमिकतामा रहेको उच्च शिक्षा, शिक्षा क्षेत्रमा जुन अति राजनीतिकरण हुँदै गएको छ। त्यसलाई हटाउन जुन प्रावधानहरू छन्, जसमा पदेन मान्छेहरू नेतृत्वमा हुन्छन्, त्यसलाई हटाउन अब केके प्रक्रिया थाल्नुपर्छ, त्यो प्रक्रिया थालौं भनेर निर्णय गरेकी छु,' उनले भनिन्।
आमा मिना देवी श्रेष्ठ र बाबु रमेश प्रसाद श्रेष्ठको सन्तानका रुपमा उनी २०४१ साल असोज १५ गते जन्मिएकी सुमना श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्रीमा सिफारिस भएकी थिइन्।
मन्त्री श्रेष्ठले उनले व्यवस्थापनमा स्नातकोत्तर गरेकी छन् । काठमाडौंको क्षेत्रपाटि स्थित सरस्वती बोर्डिङबाट एसएलसी उत्तीर्ण गरे पछि उनले बुढानिलकण्ठ स्कुलमा ए–लेभल पढिन् । त्यसपछि अमेरिकाको ब्रायन मावर कलेज र ह्याभरफोर्ड कलेजबाट अर्थशास्त्र र गणितमा स्नातक गरिन् । त्यसपछि सन् २०११ मा उनले एमआईटी स्लोन स्कूल अफ म्यानेजमेण्टबाट बिजनेस एडमिनिष्ट्रेशनमा स्नातकोत्तर गरेकी हुन् ।
विश्वका विभिन्न कम्पनीहरुमा व्यवस्थापन परामर्शदाताका रुपमा काम गरेकी श्रेष्ठ सामाजिक मुद्दाहरुमा पनि कृयाशील छन् । २०७२ सालको भुकम्पले क्षती पुर्याएका काठमाडौंका सम्पदाहरु काष्ठमण्डप, रानीपोखरी लगायतका सम्पदा पुर्नस्थापना र संरक्षणका मुद्दामा जारी वकालतमा उनी संलग्न थिईन् ।
उनी यस अघि प्रतिनिधि सभा अन्तरगतको शिक्षा समितिको सदस्य छन् । संसद र समितिमा बोल्नु अघि अध्ययन अनुसन्धान गरेर बोल्ने सांसदको छवि बनाएकी श्रेष्ठले संसदको क्यालेण्डर हुनुपर्ने प्रस्ताव राखेकी थिइन् । संसदले हिउँदे अधिवेशन देखि क्यालेण्डर लागू गरिसकेको छ ।
शिक्षाका विषयमा गहन अध्ययन सहित समितिको बैठकमा प्रस्तुत हुँदै आएकी श्रेष्ठ अब, यस अघि आफूले संसदीय समितिमा उठाएका विषय कार्यान्वयन गर्ने ठाउँमा उनी पुगेकी छन् ।