शनिवार, आश्विन २४ २०८३
काठमाडौं, २४ असोज। काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० स्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद पण्डितमाथि विद्यालय परिसरभित्रै हातपात तथा दुर्व्यवहार भएको घटनाप्रति नेपाल शिक्षक महासङ्घ, काठमाडौं जिल्ला समितिले आपत्ति जनाएको छ। महासङ्घले घटनाको निष्पक्ष छानबिन गरी दोषी ठहरिएका व्यक्तिमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ।
महासङ्घले शनिबार जारी गरेको विज्ञप्तिमा असोज २२ गते विद्यालय समयमा प्रधानाध्यापक पण्डितमाथि भएको भनिएको हातपात तथा दुर्व्यवहारको घटनाले शिक्षकको पेसागत सुरक्षा र सम्मानमाथि गम्भीर प्रश्न उठाएको जनाएको छ।
विद्यालय ज्ञान, संस्कार, अनुशासन र सभ्य समाज निर्माण गर्ने पवित्र स्थल भएको उल्लेख गर्दै महासङ्घले विद्यालयलाई शान्ति क्षेत्रका रूपमा स्थापित गर्ने मान्यतामाथि यस्ता घटनाले आघात पुर्याउने बताएको छ। शिक्षक तथा प्रधानाध्यापकले भय, दबाब र अवरोधमुक्त वातावरणमा आफ्नो जिम्मेवारी निर्वाह गर्न पाउनुपर्ने महासङ्घको भनाइ छ।
महासङ्घले घटनाको निष्पक्ष छानबिन गरी दोषी ठहरिएका व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न, शिक्षक तथा कर्मचारीको पेसागत सुरक्षा सुनिश्चित गर्न र विद्यालयलाई व्यक्तिगत, राजनीतिक तथा अन्य विवाद र दबाबबाट मुक्त राख्न सम्बन्धित निकायसँग माग गरेको छ।
त्यसैगरी, घटनाबाट प्रभावित प्रधानाध्यापक पण्डितको न्याय, सुरक्षा र सम्मान सुनिश्चित गर्न तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न पनि महासङ्घले आग्रह गरेको छ। विद्यालयको शैक्षिक तथा प्रशासनिक काममा हुने अनधिकृत हस्तक्षेप र दबाब अन्त्य गर्नुपर्ने मागसमेत विज्ञप्तिमा उल्लेख छ।
‘शिक्षकलाई असुरक्षित, अपमानित र त्रसित बनाएर गुणस्तरीय शिक्षा तथा सभ्य समाज निर्माण गर्न सकिँदैन,’ महासङ्घले विज्ञप्तिमा भनेको छ, ‘शिक्षकको पेसागत सुरक्षा र सम्मान कुनै व्यक्ति वा संस्थाको कृपाको विषय नभई सुनिश्चित गरिनुपर्ने आधारभूत अधिकार हो।’
महासङ्घले दोषीमाथि आवश्यक कारबाही नभएमा र शिक्षकको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी पहल नगरिएमा शिक्षकका पेसागत सङ्घ–सङ्गठन तथा सरोकारवालासँग समन्वय गरी चरणबद्ध सङ्घर्षका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएको छ।
महासङ्घका जिल्ला अध्यक्ष गणेशप्रसाद गुरागाईं, सहअध्यक्ष कृष्णराज कट्टेल र सचिव नारायणप्रसाद गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा विद्यालयमा शिक्षकले सम्मानपूर्वक र निर्भयतापूर्वक काम गर्न पाउने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
