बुधवार, बैशाख १९ २०८१
बैशाख, १९ गते बुधबार । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायले आगामी जेठदेखि स्नातकोत्तर तहमा मास्टर अफ कम्प्युटर एप्लिकेसन (Master of Computer Application /MCA) को दुई वर्षे कक्षा सञ्चालन गर्ने भएको छ । बिश्वबिद्यालयले पहिलोपटक पाटन बहुमुखी क्याम्पसबाट MCA बिषय पढाई गर्न लागेको हो।
पहिलो वर्ष एमसीएमा ३० जना विद्यार्थीलाई भर्ना लिन सकिने सो संकायका सहायक डिन डा. चिरञ्जिवी आचार्यले बताए । दुई वर्षमा चार सेमेष्टरमा पुरा हुने उक्त कार्यक्रम पुरा गर्न करिब दुई लाख पचास हजार रुपियाँ शुल्क लाग्ने डा. आचार्यले जानकारी दिए ।
IT को बढ्दो बजर मागलाई मध्यनजर राख्दै सबै विषय IT को परिकल्पना गर्दै मानविकीमा विशुद्ध IT स्नातकोत्तर कक्षा पहिलो पटक सुरु हुन लागेको छ । डा. आचार्यले भने, ‘आइटीको बढेदो बजार मागलाई मध्यनजर राख्दै पहिलो पटक यो कार्यक्रम त्रिविले ल्याएको हो, यसका सबै पाठ्यक्रम आइटीका हुन् ।’
कार्यक्रम सञ्चालन तथा शुल्क निर्धारण लगायतका विषयलाई लिएर त्रिविले कार्यविधि तयार गरिरहेको छ । भने त्रिविले भर्नाका लागि आवेदन खुला गरेको छ ।
यो विषय पढ्न चाहनेले वैशाख १६ देखि ३१ सम्म नियमित दस्तुरमा र दोब्बर दस्तुर तिरेर जेठ ३ गतेसम्म आवेदन दिन सकिने डिन कार्यालयले जानकारी दियो ।
कार्यालयका अनुसार प्रवेश परीक्षा जेठ पाँच गतेबाट सञ्चालन हुनेछ भने कक्षा समेत जेठबाट नै सञ्चालन गरिने त्रिविले जानकारी दियो ।
यो विषय अध्ययन गर्न Bachelor of Computer Application (BCA), Bachelor of Engineer (BE कम्प्युटर/इलेक्ट्रोनिक्स/सूचना प्रविधि/सफ्टवेयर) वा Bachelor of Information Technology (BIT), Bachelor of Computer Science (BSc.CSIT) Bachelor of Information Management (BIM) को स्नातक सूचना र सञ्चार प्रविधिमा शिक्षा स्नातक (Bed. ICT/BICT) न्यूनतम B (2.7) ग्रेड (BCA, TU, FOHSS वा समकक्षको लागि ग्रेडिङ प्रणालीमा परिभाषित गरिए अनुसार) वा मान्यता प्राप्त संस्थाबाट समकक्ष डिग्रीको साथ स्नातक डिग्री पूरा गरेको वा स्नातक डिग्री वा समकक्ष डिग्री मा 45 प्रतिशत (वार्षिक प्रणाली को लागी) न्यूनतम अङ्क ल्याएको हुनुपर्ने छ ।