आइतवार, भाद्र १६ २०८१
भदौ, १७ गते काठमाडौ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौ जिल्लाले उपत्यकाव्यापी लोक नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। विद्यार्थिहरुको सर्बाङ्गिण विकासका विभिन्न जातजाति, भाषा, धर्म, संसकृति र तिरिवाजसँग सम्बन्धित मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धनका लागि भदौ १८ गते उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता आयोजना गर्ने भएको हो।
एनप्याब्सनद्वारा रिपोटर्स् क्लबमा आयोजित पत्रकार सम्मेलन बोल्दै एनप्याब्सन काठमाडौ जिल्ला अध्यक्ष अमृत कुमार खड्काले नेपालको मौलिक संस्कृतिलाई जगेर्ना गर्ने र विद्यार्थीहरुलाई संस्कृति हस्तान्तरण होस भन्ने उदेश्यले लोक नृत्य प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो।
पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको बिज्ञपतिमा विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि शैक्षिक क्षेत्रमा सक्रिय एनप्याब्सन काठमाडौंले विभिन्न जातजाति भाषा, धर्म, संस्कृति र रीतिरिवाजसँग सम्बन्धित मौलिक संस्कृतिको संवर्द्धन गर्ने उद्देश्यले पर्सि मंगलवार नेपाल प्रज्ञा भवन, कमलादीमा, उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता २०८१, छैटौं संस्करणको आयोजना गर्न गइरहेको उल्लेख गरेकोछ।
लोक प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमशः रु.२५,०००/–, रु. २०,०००/– र रु.१५,०००/– का दरले नगद पुरस्कारका साथमा प्रमाणपत्र तथा ट्रफी प्रदान गरी पुरस्कृत गरिने छ । साथै चौथोदेखि दसौं स्थानसम्मको नृत्यलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनुका साथै, सर्वोत्कृष्ट भेषभुषा, सर्वोत्कृष्ट नृत्य निर्देशकलाई पनि प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगिता सहभागी विद्यालय र सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिने आयोजक संस्थाले जनाएको छ।

