मंगलवार, भाद्र १८ २०८१
भदौ, १८ गते काठमाडौ। त्रिभुवन विश्वविद्यालयले थप ८ क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले सार्वजनिक सूचना जारी गर्दै क्याम्पस प्रमुख छनोट समितिले आंगिक क्याम्पसहरुमा रिक्त र निकट भविष्यमा रिक्त हुने क्याम्पस प्रमुख पदका लागि आवेदन माग गरेको हो ।
त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० (२०८० ३ १२ सम्मको संशोधनसहित) को परिच्छेद ५२ को नियम १८५ ( २ ) साथै त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम, २०८१ को परिच्छेद १९ बमोजिम आवेदन माग गरिएको जनाएको छ ।
विश्वविद्यालयले सूचना जारी गर्दै विनियमका आधारमा नियुक्तिका लागि इच्छुक अध्यापकबाट दरखास्त माग गरेको छ । वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर चितवन, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगंज, बाके, सानोठिमी क्याम्पस, सानोठिमी भक्तपुर, ललितकला क्याम्पस, भोटाहिटी, काठमाडौं, भैरहवा बहुमुखी क्याम्पस, भैरहवा, धवलागिरी बहुमुखी क्याम्पस, वाग्लुङ, महेन्द्ररत्न क्याम्पस, ताहाचल, काठमाडौं, भोजपुर बहुमुखी क्याम्पस, भोजपुर गरी ८ क्याम्पसका लागि आवेदन मागेको छ ।
उम्मेदवारहरुले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र विनियम ३९ (२) मा व्यवस्था भए बमोजिम आवश्यक कागजात साथै आशयपत्र पठाउनुपर्ने छ ।
