बुधवार, आश्विन २ २०८१
असोज, २ गते काठमाडौ । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईले विद्यालय तहदेखि उच्च शिक्षासम्म गुणस्तरीय शिक्षक, विद्यालय, शैक्षिक सामग्री र वातावरणको व्यवस्था गर्न ३ वटै तहको सरकार बीच समन्वय, साझेदारी र सहकार्य आवश्यकता रहेको बताएकी छन् । राष्ट्रिय शिक्षा दिवस २०८१ का अवसरमा शुभकामना सन्देश दिदै मन्त्री भट्टराईले यस्तो धारणा व्यक्त गरेकी हुन्।
मन्त्री भट्टराईले सन्देशमा भनेकी छन्, ''समयसापेक्ष र गुणस्तरीय शिक्षाले देशमा ज्ञान, सीप, दक्षता सहितका सिर्जनशील एवं ऊर्जावान नागरिक तयार गर्छ। यसका लागि विद्यालय तहदेखि उच्च शिक्षासम्म गुणस्तरीय शिक्षक, विद्यालय, शैक्षिक सामग्री र वातावरणको व्यवस्था गर्न सबै प्रदेश र स्थानीय सरकार बीच समन्वय, साझेदारी र सहकार्य आवश्यक छ।''
मन्त्री भट्टराईले नैतिकवान र दक्ष व्यक्तिले सभ्य समाज निर्माण गर्न सक्ने बताएकी छन्। देशले समृद्धि प्राप्त गर्न गुणस्तरीय, समावेशी र जीवनोपयोगी शिक्षा आवश्यक छ। इमानदार, सदाचारयुक्त, मिहिनेती र लगनशील मानवपूँजी निर्माण गर्न शिक्षक, विद्यार्थी, अभिभावक, समुदाय, राजनीतिक दल, शिक्षाविद एवं पेसाकर्मीको सकारात्मक सोच र व्यवहारको खाँचो रहेको उनको भनाइ छ।
विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका बालबालिकाका लागि शिक्षामा पहुंच विद्यालयमा प्रवेश गरेका सम्पूर्ण विद्यार्थीको सक्षमता विकास गरी विद्यालयमा टिकाउने, स्तरोन्नति गराउने र रोजगार एवं स्वरोजगार मार्फत आत्मनिर्भर बन्न सक्ने नागरिक तयार गर्न सबैको सामूहिक जिम्मेवारी र भूमिका रहेको सन्देशमा बताएकि छन्।
मन्त्री भट्टराईले भनेकी छन, "नेपालको संविधानले शिक्षालाई मौलिक हकका रूपमा स्वीकार गरी आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहको शिक्षा निःशुल्क हुने व्यवस्था गरेको छ। अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ लाई कार्यान्वयन गर्न कार्यान्वयन ढाँचा समेत तयार गरेको छ। यस सन्दर्भमा शिक्षालाई गरिखाने बनाउने एवं अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सक्ने वातावरण सिर्जना गर्नु हामी सबैको कर्तव्य र दायित्व रहेको छ।"
शिक्षा मन्त्री भट्टराईले राष्ट्रिय शिक्षा दिवस २०८१ को आदर्श वाक्यको प्रभावकारी कार्यान्वयन हुन सकोस र हाम्रो शिक्षा प्रणालीलाई व्यावहारिक र उत्कृष्ट बनाउन सकौं भन्ने अपेक्षा रहेको संदेशमा बताएकी छन्।