बुधवार, आश्विन २ २०८१
असोज, २ काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको राष्ट्रिय शिक्षा दिवसमा पुरस्कृत हुने व्यक्ति र शैक्षिक संस्थाहरूको नामावली सार्वजनिक गरेको छ । राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी बनाइएको उपसमितिले सिफारिस गरेको नामावली सार्वजनिक गरेको हो ।
राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा उत्कृष्ट सार्वजनिक (सामुदायिक) तथा निजी लगानीका विद्यालय, प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतका प्राविधिक शिक्षालय, विश्वविद्यालयका उत्कृष्ट क्याम्पस र सामाजिक संघ संस्थाहरूलाई राष्ट्रिय स्तरमा पुरस्कृत गरिएको छ
उत्कृष्ट विद्यालयतर्फ राष्ट्रिय शिक्षा पुरस्कारतर्फ २०८० सालको कक्षा १२ को नतिजा मूल्याङ्कनका आधारमा सार्वजनिक र निजी लगानीका विद्यालय तर्फ राष्ट्रिय स्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई राष्ट्रिय सिल्ड, ध्वजा, क्रमशः रु तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार र प्रमाणपत्रसहित विद्यालयतर्फको राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिएको छ ।
प्राविधिक शिक्षालयतर्फ प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्याङ्कन तथा सिफारिसको आधारमा विभिन्न चार वटा प्राविधिक शिक्षालयहरूलाई राष्ट्रिय ध्वजा र एक लाख नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने, उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कारतर्फ विश्वविद्यालय अन्तर्गत आङ्गिक, सम्बन्धन प्राप्त सामुदायिक र सम्बन्धन प्राप्त निजी क्याम्पस गरी तीन वटा क्याम्पसलाई रु दुई लाख पचास हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने उच्च शिक्षातर्फ नेपाल विद्याभूषण क २६४ जना, नेपाल विद्याभूषण ख ३५ जना, नेपाल विद्याभूषण ग २१ जना, नेपाल छात्रा विद्यापदक क १५ जनालाई प्रदान गरिनेछ । समाज कल्याण शिक्षा पुरस्कारतर्फ सडक बालबालिका, एचआइभि एड्स सङ्क्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालबालिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पु¥याएका संस्थाहरूमध्ये स्वीकृत मापदण्डको आधारमा छनौट भएका दुई वटा संस्थालाई नगद पुरस्कार रु दुई दुई लाखसहित प्रशंसापत्र प्रदान गरिएको छ ।
त्यसैगरी शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएवापत राष्ट्रिय शिक्षा दिवस, २०८१ को अवसरमा राष्ट्रिय शिक्षा पुरस्कार स्वरूप प्रमाणपत्र प्रदान गरिने व्यक्तित्वहरू, विद्यालयतर्फ सामुदायिक विद्यालयका शिक्षक मध्येबाट ७७ जिल्लाका ७४ जना; निजी लगानीका शिक्षक, कर्मचारी र संस्थापक मध्येबाट ३२ जना; विव्यस पदाधिकारी विद्यालय कर्मचारी र बालविकास शिक्षक मध्येबाट ३५ जना प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत प्राविधिक शिक्षालयका प्रशिक्षक र कर्मचारी मध्येबाट पाँच जना विश्वविद्यालय अनुदान आयोगको सिफारिस बमोजिम विश्वविद्यालयतर्फका शिक्षक कर्मचारी मध्येबाट पच्चिस जना लाई सम्मान गरिएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री माननीय विद्या भट्टराईको अध्यक्षतामा राष्ट्रिय शिक्षा दिवस मूल समारोह समिति गठन भएको थियो । दिवसलाई भव्य बनाउन राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी उपसमिति, कार्यक्रम व्यवस्थापन उपसमिति, शैक्षिक स्मारिका प्रकाशन उपसमिति, सांस्कृतिक कार्यक्रम उपसमिति, प्रचार प्रसार उपसमिति, समाज कल्याण शिक्षा पुरस्कार उपसमिति गठन भएका थिए ।
पुरस्कार पाउने शैक्षिक संस्था तथा ब्यक्तिको नामावली हेर्न CLICK गर्नुस् ।