शुक्रवार, कार्तिक ९ २०८१
कार्तिक, ९ गते काठमाडौ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकले एक दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुपर्ने निर्णय गरेको छ। गत असोज ११ र १२ गतेको अविरल वर्षाबाट सृजित बाढी पहिरो तथा डुबानबाट जनधनको क्षति भएको र विपत्बाट प्रभावित घर परिवारलाई राहत उपलब्ध गराउने जानकारी दिँदै शिक्षकले एक दिनको तलब कोषमा जम्मा गर्नुपर्ने निर्णय गरेको हो।
मन्त्रालयले मन्त्रीस्तरीय निर्णय भएको बताउँदै राष्ट्रसेवक निजामती कर्मचारीहरूको हकमा राजपत्रांकित अधिकृतहरूको २ दिन र अन्य कर्मचारीहरूको १ दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुपर्ने उल्लेख छ। साथै सोही आधारमा स्वीकृत दरबन्दी र राहत अनुदानमा कार्यरत विद्यालयका शिक्षकहरूको १ दिनको तलब कोषमा जम्मा गर्न भनिएको छ ।
त्यसैगरी स्थानीय तहहरूलाई समेत उक्त निर्णय अनुसार तलब जम्मा गर्न अनुरोध गर्दै निर्णय कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन दिएको छ ।
