बुधवार, कार्तिक २८ २०८१
कार्तिक, २८ गते काठमाडौ । नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१’ बमोजिम दरखास्त आह्वान गरिएको हो ।
इच्छुक तथा योग्य व्यक्तिले कार्यविधिको अनुसूची–१ मा उल्लेख गरिएको ढाँचामा (दस दिनभित्र नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दरखास्त पेश गर्न आह्वान गरेको छ । साथै दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ सुचनामा उल्लेख छ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाध्यक्ष प्रा डा भीमप्रसाद खतिवडालाई तीन महिनाका लागि गत भदौ १७ गते विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी तोकेका थिए । प्रधानमन्त्री एवं कुलपति ओलीले सो विश्वविद्यालय ऐन, २०४६ को दफा १६ को उपदफा ६ बमोजिम उनलाई उक्त जिम्मेवारी दिएका थिए ।
तत्कालीन उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले गत साउन २७ गते राजीनामा दिएका थिए । उनको राजिनामा गत भदौ १ गते प्रधानमन्त्रीबाट स्वीकृत भएको थियो ।
