आइतवार, मंसिर २ २०८१
मंसिर, २ गते । काठमाडौँ महानगर, १३ छाउनीस्थित फ्यूचर स्टार इङ्लिस स्कुलले आयोजना गरेको अन्तर- विद्यालय तेक्वान्दो प्रतियोगिता सम्पन्न गरेको छ। विभिन्न स्कुल तथा डोजङमा खेल्ने १५० जना खेलाडी विद्यार्थीहरुले सहभागी जनाएको 'पहिलो फ्युचर स्टार तेक्वान्दो प्रतियोगिता- २०८१' (1st Future Star Taekwondo Championship - 2081) सम्पन्न गरेको हो।

खेल शनिबार फ्युचर स्टार स्कुलको प्राङ्गणमा खेलाइएको थियो। प्रतियोगितामा सहभागी टिम (स्कुल/डोजाङ) मध्यबाट फ्युचर स्टार स्कुलले प्रथम स्थान हात पार्यो। त्यस्तै जैसिदेवल तेक्वान्दो डोजाङ द्वितीय र काठमाडौ लिटल ब्लसम स्कुलले तृतीय स्थान हात पार्यो।

उक्त प्रतियोगितामा पुरुष तर्फ तुक्य तेक्वान्दो डोजाङ्का खेलाडी संयोग खड्काले उत्कृष्ट खेलाडी पुरस्कार प्राप्त गरे र महिला तर्फ फ्युचर स्टार स्कुल डोजाङकी पुर्णिमा नेपालीले उत्कृष्ट खेलाडी पुरस्कार प्राप्त गरिन्।

प्रतियोगितामा बिजेता खेलाडीलाई मेडल र प्रमाणपत्र दिइएको थियो। प्रतियोगिता फ्युचर स्टार स्कुलका संस्थापक प्रिन्सिपल मनोज कुमार श्रेष्ठको सभापतित्व तथा काठमाडौं जिल्ला तेक्वान्दो संघका सचीव तथा अन्तर्राष्ट्रिय रेफ्री गौरभ रजक, दोलखा जिल्ला तेक्वान्दो एसोसिएसन तथा अन्तर्राष्ट्रिय रेफ्री नोर्बु मोक्तान, बागमती प्रदेश तेक्वान्दो एसोसिएसन तथा अन्तर्राष्ट्रिय रेफ्री नवीन केसि, काठमाडौ जिल्ला तेक्वान्दो संघका पूर्व उपाध्यक्ष सानुबाबु महर्जन, स्कुलका संस्थापक निर्देशक विनीता श्रेष्ठ लगाएत खेलाडी तथा रेफ्रीहरुको उपस्थिती रहेको थियो।

तेक्वान्दो प्रतियोगिताको पुरस्कार वितरण पश्चात् समापन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति तथा स्कुलका संस्थापक प्रिन्सिपल मनोज कुमार श्रेष्ठले खेल जीवनको अभिन्न अंग हो भन्दै जिवनलाई स्वस्थ राख्नको लागि खेल अनिवार्य रहेको बताउनुभयो। त्यस्तै खेलले देश बिकासमा समेत महत्वोपूर्ण भूमिका खेल्ने र खेल मार्फत देशलाई अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउन सकिने उहाँले बताउनुभयो।

पहिलो पटक आयोजना गरेको तेक्वान्दो प्रतियोगितालाई आगामी वर्षसमेत निरन्तरता दिने बताउनुभयो। तेक्वान्दो विद्यार्थीहरुको स्किल देखाउने खेल हो। प्रिन्सिपल श्रेष्ठले नियमानुसार र अनुशासित खेल्ने खेलाडीले प्रतिस्पर्धामा बिजय हासिल गर्न सक्ने बताउनुभयो। उहाँले तेक्वान्दो प्रतियोगितामा बिजेता तथा सहभागी खेलाडीहरुलाई बधाई तथा शुभकामना दिनुभयो ।

उक्त प्रतियोगिताको औपचारिक कार्यक्रम संचालन स्कुलका सहायक प्रिन्सिपल प्रोशन राजभण्डारी र शिक्षक इश्वरी श्रेष्ठले गर्नुभयो। तेक्वान्दो प्रतियोगिताको संयोजक फ्युचर स्टार डोजाङ प्रमुख एबिन श्रेष्ठ रहनुभयो।



