बुधवार, मंसिर १२ २०८१
मंसिर, ११ काठमाडौ । पोखरा विश्वविद्यालयले व्यवस्थापन अध्ययन संकायको स्नातक र स्नातकोत्तर तहको पाठ्यक्रम परिमार्जन गरेको छ। विश्वविद्यालयले स्नातक तहमा बिबिए, बिबिए (फाइनान्स), बिबिए (ट्राभल एण्ड टुरिज्म) र स्नातकोत्तर तहमा एमबिए, एमबिए (फाइनान्स) र एमबिए (ग्लोबल बिजनेस) को पाठ्यक्रम परिमार्जन गर्दै नयाँ पाठ्यक्रम लागु गरेको हो ।
विद्यमान बद्लिँदो विश्व परिवेश, आर्थिक, सामाजिक, व्यावसायिक र प्राविधिक गतिविधिहरूलाई मध्यनजर गर्दै वर्तमान र आगामी केही वर्षमा नेपाल लगायत विश्व जगत्मा व्यवस्थापन, व्यापार, उद्यमशीलता र अन्य व्यवसायहरूको लागि दक्ष मानव संसाधन उत्पादन गर्ने नयाँ पाठ्यक्रमको मुख्य उद्देश्य रहेको बताइएको छ। विश्वविद्यालयले परिमार्जन गरेको पाठ्यक्रम पश्चात् विद्यार्थीहरु स्वदेश तथा विदेशको कुनै पनि ठाउँमा गएर इन्टर्नशिप गर्न सक्ने छन साथै सिधै रोजगारमा आवद्ध हुनसक्ने छन्।
लागु गरिएका स्नातक तहका पाठ्यक्रमहरूमा प्रत्येक सेमेष्टरमा प्रयोगात्मक र व्यावहारिक ज्ञानको लागि प्राक्टिकम कोर्सहरू, प्रोजेक्ट वर्क र कम्युनिटी इङगेजमेन्ट प्रोजेक्ट जस्ता कोर्सहरू समावेश गरिएको बताइएको छ।
स्नातक तहका हरेक कार्यक्रमहरुमा करिव ३० प्रतिशत क्रेडिट आवरका कोर्षहरू र स्नातकोत्तर तहमा करिव ८० प्रतिशत कोर्षहरु सम्बन्धित स्कुल कलेजहरुलाई नै स्वायत्त तरिकाले सञ्चालन गर्ने व्यवस्था रहेको छ । त्यस्तै जम्मा १२० क्रेडिट आवरको कोर्स, प्रयोगात्मक सिकाई, प्रोजेक्ट र अनुसन्धानमूलक कार्यहरू गराईने र यस तहमा ४२ महिना कलेजको कोर्स वर्क र ६ महिनाको इन्टर्नशिप गरी जम्मा ४८ महिनामा अध्ययन पूरा हुनेछ ।
त्यसैगरी नयाँ पाठ्यक्रम परिमार्जन गर्दा बिबिए–बिआई कार्यक्रमलाई बिबिए (फाइनान्स) नामाकरण गरिएको छ । यस कार्यक्रममा फाइनान्समा विशिष्टीकरण कोर्सहरू अनिवार्य हुनुको साथै बैंकिङ्ग, बिमा, कर्पोरेट फाइनान्स र पूँजी बजार मध्ये कुनै दुईवटा विधामा विशिष्टीकरण गर्न सकिने गरी पाठ्यक्रम निर्माण गरिएको छ ।
स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरूमा प्राक्टिकम र सेमिनार कोर्सहरू थपिएको छ । यसमा विद्यार्थीले अध्ययनको सिलसिलामा इन्डष्ट्री अथवा रिसर्च मध्ये एउटा बाटोमा रोज्नुपर्ने व्यवस्था गरेको छ । इन्डष्ट्री विधामा विद्यार्थीहरूले उद्यमशीलता विकास सँगै नव उद्यम प्रवर्धन गर्न सहयोग पुग्ने र रिसर्च कार्य पनि गहन र विस्तृत तरिकाबाट सिकियोस भन्ने उदेश्यले ६ क्रेडिट आवरको बनाइएको छ ।
स्नातकोत्तर तहमा जम्मा ६० प्रतिशत क्रेडिट आवरको कोर्स, प्रयोगात्मक सिकाई, प्रोजेक्ट र अनुसन्धानमूलक कार्यहरू गराइने र २० महिनाको कलेजको कोर्स वर्क र ४ महिनाको इन्टर्नशिप सहित जम्मा २४ महिनामा अध्ययन पूरा हुनेछ । चार महिनाको एक ट्राइमेष्टर र २ वर्षमा ६ ट्राइमेस्टर हुँदा एक क्रेडिट आवर र दुई क्रेडिट आवरका छोटा छोटा तर समय सान्दर्भिक कोर्सहरू लगायत ३ क्रेडिट देखि ६ क्रेडिट आवरसम्मका गहन कोर्सहरू समेत समावेश गरिएको विश्वविद्यालयको भनाई छ ।
स्नातक तथा स्नातकोत्तर तहका प्रत्येक कार्यक्रमहरुमा बढीमा २५ प्रतिशत सम्म स्वदेशी वा विदेशी विश्वविद्यालयवाट अध्ययन गरी आएका मिल्दा कोर्षहरुको डिन अफिसबाट स्विकृति लिई क्रेडिट ट्रान्सफर गर्न सकिन्छ ।
शैक्षिक सत्र २०२४ फलबाट लागु हुने गरी पाठ्यक्रम परिमार्जित र परिष्कृत गरिएको विश्वविद्यालयले जनाएको छ ।