शुक्रवार, मंसिर १४ २०८१
मंसिर, १४ गते काठमाडौ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को तेस्रो अन्तराष्ट्रिय सम्मेलन (3rd PABSON INTERNATIONAL CONFERENCE) शुक्रवारदेखि काठमाडौँमा सुरु भएको छ । प्याब्सन केन्द्रीय समितीका अध्यक्ष डिके ढुङ्गानाको अध्यक्षता तथा पुर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख अतिथ्यतामा सम्मेलन उद्घाटन भएको हो।

प्याब्सनले अन्तराष्ट्रिय शैक्षिक सम्मेलनको आयोजना गरेकोमा आयोजकप्रति हार्दिक धन्यवाद दिँदै प्रचण्डले विद्यालय शिक्षा बिधेयकमा बहस भएका जायज माग सम्बोधन हुने बताउनुभयो । साथै नेपालको सन्दर्भमा निजी क्षेत्र शिक्षा क्षेत्रमा महत्त्वपूर्ण साझेदार बनेको र शिक्षा विकासका लागि सामुदायिक र निजी विद्यालयले एक अर्काको बलियो पक्षहरूबाट सिक्दै अगाडी बढ्नुपर्ने अध्यक्ष प्रचण्डले बताउनुभयो।
निजी विद्यालयहरूले शिक्षाको पहुँच विस्तार गर्ने, गुणस्तरीय शिक्षाका नयाँ नमुना प्रस्तुत गर्ने र आधुनिक प्रविधिको प्रयोगमार्फत शिक्षण प्रक्रिया प्रभावकारी बनाउने काम गर्दै आएका प्रचण्डले बताउनुभएको । निजी क्षेत्रको प्रयासले प्रतिस्पर्धात्मक शिक्षाको विकास एवं राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्तिको विकासमा महत्त्वपूर्ण योगदानसमेत पुगेको छ उहाँको भनाइ छ।

आफूले प्रधानमन्त्रीको तेस्रो कार्यकालमा शिक्षा क्षेत्रमा महत्त्वपूर्ण कामहरू गरेको उल्लेख गर्दै विद्यालय शिक्षा विधेयक २०८० लाई संसद्मा पेस गर्नुलाई पनि ठुलो उपलब्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो, ’सङ्घीय शिक्षा ऐनले अहिलेको शिक्षा क्षेत्रमा विद्यमान सबै समस्या समाधान गरोस् भनेर बडो मेहनतका साथ मेरो नेतृत्वको सरकारले विधेयकलाई संसद्मा पुर्याइएको छ, तर त्यसलाई छलफल गरेर टुङ्गोमा पु¥याउन बाँकी छ । अहिले समितिमा त्यो छलफलका क्रममा छ र आउने हिउँदे अधिवेशनमा त्यसलाई पारित गर्ने हाम्रो प्रयास छ ।’
सरोकारवालाहरूको माग मुद्दाका विषयमा समेत छलफल गरेर संशोधन मार्फत त्यसलाई समेटिएको भन्दै अगाडी भन्नुभ, ’त्यो शिक्षा ऐनमा यहाँहरू समेतको सुझावलाई ध्यान दिँदै मैँले कार्यदल नै बनाएर सबै सरोकारवालाका चासो चिन्तालाई पनि सम्बोधन हुने गरी संशोधन हाल्न लगाएको छु । मलाई विश्वास छ ती संशोधन सहित शिक्षा ऐन पारित हुँदा अहिले हामीले भोगिरहेका थुप्रै नीतिगत र व्यवहारिक समस्याको सम्बोधन त्यसले गर्नेछ र सबैको भावना अधिकतम त्यसले समेट्नेछ ।'
कार्यक्रममा प्याब्सनका अध्यक्ष डीके ढुङ्गानाले मुलुकको विद्यालय शिक्षा सुधार गर्न निजी र सामुदायिक विद्यालय सँगसँगै रहेको बताएका छन् । सहर र दुरराजमा अन्तर्राष्ट्रिय स्तरका सामुदायिक विद्यालय सरहको शिक्षा दिने निजी विद्यालय रहेको उनले बताए । ‘अन्तर्राष्ट्रिय स्तरको र सामुदायिक सरह सुविधा दिने निजी विद्यालय पनि छन्,’तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनमा उनले भने,‘लामो समय देखि गुणस्तर अभिवृद्धिमा सामुदायिक विद्यालयलाई पनि सँगै लैजानु पर्छ भनेर प्याब्सनले काम गरिरहेको छ ।’ सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्याब्सन सम्मेलनमा सामुदायिक विद्यालयका ३५ जना प्राचार्यलाई समेत सहभागी गराएको उनले बताए ।

त्यसैगरी अध्यक्ष ढुङ्ग्गानाले ६ अर्बको लगानी, चार लाखलाई रोजगारी दिएको निजी विद्यालयले ७३ जिल्लामा फैलिएको बताए । संसदमा विधेयक लैजानु अघि प्याब्सनले राखेको माग सरकारले सम्बोधन गरेको उनले बताए । ‘उहाँले नै हाम्रो माग सम्बोधन हुने गरी संसदमा विधेयक पेश गरिदिनु भयो । हाम्रो माग सुनुवाइ गर्न उपप्रधानमन्त्रीको संयोजकत्वमा समिति बनाइदिनु भयो,’कार्यक्रमका प्रमुख अतिथि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिँदै ढुङ्गानाले भने,‘निजी क्षेत्रको कुरा सुन्न पर्छ भनेर वार्ता समिति बनाएर जुन पहल भयो । फलस्वरूप विधेयक पुनलर्खेन गरेर संसदमा गएको हो ।’ सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा लागू गर्ने भन्दै लागि परेको अवस्थामा निजी विद्यालयले लिने शुल्क कसले व्यहोर्ने भन्ने यकिन हुनु पर्ने उनले बताए ।
नेपालमै गुणस्तरीय शिक्षा प्रदान गर्दै विश्व शैक्षिक मञ्चमा उपस्थिति देखाउने उद्देश्यले स्वदेशी शिक्षालय र शिक्षाकर्मीलाई प्रतिस्पर्धी बनाउन प्याब्सनले हरेक वर्ष सम्मेलन गर्दै आएको छ । काठमाडौँको हायत होटलमा भइरहेको यस वर्षको सम्मेलन शनिवारसम्म चल्नेछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहजीकरण र ब्रिटिस काउन्सिलको प्राविधिक सहयोगमा ‘लिडिङ चेन्ज’ शीर्षकमा नेतृत्व विकास गर्ने उद्देश्य राखिएको प्याब्सनले जनाएको छ ।

फिनल्यान्ड, बेलायत, क्यानडा, दक्षिण एसियाका शिक्षासम्बन्धी विज्ञ एवं प्रतिष्ठित वक्ताहरू सम्मेलनमा सहभागी भएका छन् ।
सम्मेलनमा कक्षा कोठाको सुधार, नेतृत्व विकास, कृत्रिम बौद्धिकता (एआई), डिजिटल शिक्षासम्बन्धी विषयहरूमा बहस हुने बताइएको छ। साथै १२ भन्दा बढी सेसन र चारभन्दा बढी महत्त्वपूर्ण कि नोट स्पिच सम्मेलनमा हुने छन् । सम्मेलन निजी विद्यालय र सामुदायिक विद्यालयका सञ्चालक, प्रिन्सिपल, कोर्डिनेटर, शिक्षक सहभागी भएका छन् ।