बुधवार, पौष ३ २०८१
पुस, ३ गते जनकपुर। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा एमबिबीएसको अध्यापन सुरु भएको छ। यस वर्ष एमबिबीएसका ५० विद्यार्थीलाई अध्यापन गराउने अनुमति पाएपछि प्रतिष्ठानले अध्यापन सुरु गरेको हो।
प्रतिष्ठानले प्राप्त गरेको ५० मध्ये ७५ प्रतिशत सिटमा विद्यार्थीको पूर्ण छात्रवृत्ति र २५ प्रतिशत सिटमा तोकिएको रकमको आधारमा नामाङ्कन गराइने बताइएको छ। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अकुर साहका अनुसार पूर्ण छात्रवृत्तिअन्तर्गत ३८ जनाको नामाङ्कन गरिएको छ भने विदेशी विद्यार्थीको हकमा ४५ लाख भारतीय रकम लिने निर्णय भएको उनले बताएका छन्। पूर्णछात्रवृत्ति नभएका विद्यार्थीको पनि नामाङ्कन सुरु गरिएको उपकुलपति डा. साहले बताए। अहिलेसम्म एकजना भारतीय विद्यार्थीको एमबिबीएसमा नामाङ्कन गरिएको छ।
नामाङ्कनको लागि यही पुस २४ गतेसम्म समयावधि तोकिएको छ। छात्रवृत्ति नपाएका विद्यार्थीसँग प्रतिष्ठानले रु. ४५ लाख शुल्क तोकेको जनाउँदै उनले उक्त रकम तीन पटकमा बुझाउनुपर्ने बताइएको छ।
एमबीबीएसको अध्ययन जनकपुरधामस्थित प्रादेशिक अस्पतालको पछाडि रहेको एकेडेमी कलेजमा सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ। यसअघि उक्त भवनमा नर्सिङका छात्राहरू अध्ययन गर्दै आएका थिए। एमबीबीएस अध्यापनका लागि शिक्षकको छनोट र नियुक्ति पहिला नै भइसकेको बताउँदै उपकुलपति डा. साहले छनोट भएका शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण दिने कार्य पनि भइसकेको जानकारी दिए।