शुक्रवार, पौष १२ २०८१
अनुषा अर्याल- १२ पुस काठमाडौ। ECD केन्द्रहरूका थुप्रै चुनौतीहरू छन्, जस्तै न्यून बजेटका कारण आधारभूत सुविधा, शैक्षिक सामग्री र खेलकुद सामग्रीको अभाव। ECD शिक्षकहरू कम तलब र सम्मानको अभावमा काम गर्न बाध्य छन्, र उनीहरूको योगदानलाई शिक्षक होइन, ‘सहायक’को रूपमा लिइन्छ। शिक्षकहरूलाई नियमित तालिम नदिइनु, दक्षताको अभाव र नयाँ शिक्षण विधिको पहुँच नहुनुले शिक्षाको गुणस्तरमा नकारात्मक असर पुर्याउँछ।
बालबालिकालाई नियमित पोषिलो खाजा उपलब्ध नगराउँदा उनीहरूको सक्रिय सिकाइमा कमी आउँछ, र शिक्षकहरू सँग गुनासो गर्नु बाहेक केही विकल्प छैन ! तर, अधिकाङ्स निजी प्रि-स्कूलहरूले गुणस्तरीय सामग्री, आधुनिक उपकरण र बच्चा-केंद्रित शिक्षण विधिहरूमा लगानी गर्छन्।
तलब र मान्यताको आकर्षणले दक्ष जनशक्ति निजी प्रि-स्कूलतर्फ आकर्षित गर्दछ। नियमित तालिम, संरचित पाठ्यक्रम र प्रविधिको प्रयोगले निजी प्रि-स्कूलहरूको शिक्षा स्तरलाई बढाएको छ। बालबालिकालाई नियमित पोषिलो खाजा उपलब्ध गराउँदा उनीहरूको समग्र विकासमा योगदान पुर्याउँछ। यद्यपि, सुधारिनु पर्ने पक्षहरु पनि छन्, जस्तै विदेशी पाठ्यक्रमलाई हाम्रो परिवेशसँग अनुकूल बनाउन र कार्यपत्रिका(worksheet) जस्ता सामग्रीहरूको प्रभावकारी प्रयोगमा शिक्षकको क्षमता वृद्धि।
बाहिरबाट खरिद गरेर ल्याएका पाठ्यक्रम र रेडीमेड वर्कसिटले शिक्षकको सिर्जनशीलतालाई अन्योलमा पार्दछ: यी स्रोतहरूलाई सहयोगी रूपमा मात्र प्रयोग गरौँ, समयानुकूलका कुराहरू सिकौँ! साथै, सामग्री/विषयवस्तु थप्दै जानुको सट्टा, जुन पछि गएर फेरि कक्ष १, २ मा दोहोरिन्छ, बरू अझै समग्र विकास सुनिश्चित गर्ने दिशामा ध्यान दिनु महत्वपूर्ण छ।
ECD कार्यक्रम बालबालिकाको प्रारम्भिक विकासका लागि अत्यन्त महत्त्वपूर्ण छ।
• ECD केन्द्रहरूको बजेट वृद्धि गर्न समुदाय, सरकार र साझेदारहरूको सहकार्य आवश्यक छ।
निजी प्रि-स्कूलहरूमा प्रयोग हुने उपयोगी अभ्यासलाई ECD केन्द्रहरूमा लागू गर्नुपर्छ।
• ECD शिक्षिकाहरूलाई उचित तलब, तालिम र सामाजिक मान्यता प्रदान गर्नुपर्छ।
• ‘सहायक’ को रूपमा नभई शिक्षिकाको रूपमा सम्बोधन गरिनुपर्छ।
• शिक्षिकाहरूका लागि नियमित तालिम कार्यक्रमको व्यवस्था गर्नुपर्छ।
• खेलकुद सामग्री र शिक्षण उपकरण उपलब्ध गराउन बजेट छुट्याउनुपर्छ।
• सबै ECD केन्द्रहरूमा नियमित पोषिलो खाजा उपलब्ध गराउने योजना बनाइनुपर्छ।
• साझेदारी कार्यक्रम सुरू गरी निजी प्रि-स्कूलहरूसँग सहकार्य गर्ने अवसर प्रदान गर्नुपर्छ।
• ECD शिक्षिकाहरू सीमित स्रोतसाधनका बाबजुद आफ्नो समय, ऊर्जा र समर्पण बालबालिकाको विकासमा खर्च गर्छन्।
'अर्याल बाल बिकास प्रबर्द्धक हुनुहुन्छ ।'