बिहिवार, पौष ४ २०८१
अनुषा अर्याल- ४ मंसिर काठमाडौ। धेरै अभिभावक आफ्ना सन्तान विद्यालयमा भर्ना गरिसकेपछि छिट्टै लेख्न सुरु गर्नुपर्छ भन्ने सोच राख्छन्। तर जब उनीहरूले आफ्ना बालबालिकाले पेन्सिल समात्न, अक्षर बनाउन वा सिधा रेखा कोर्न संघर्ष गरिरहेको देख्छन्, तब निराश र चिन्तित हुने गर्छन्।
शिक्षाशास्त्री र बालमनोवैज्ञानिकहरूका अध्ययनहरूले देखाए अनुसार लेख्न सक्षम हुन बालबालिकाको सानो मांसपेशी (फाइन मोटर स्किल्स) को विकास हुनुपर्छ। यो सीप विकास गर्न हातको मांसपेशीको राम्रो समन्वय र अभ्यास आवश्यक पर्छ। यस्तै, आँखा र हातको समन्वय (ह्यान्ड-आइ कोअर्डिनेसन) लेखाइका लागि महत्त्वपूर्ण पक्ष हो। मानसिक तयारी पनि अर्को महत्त्वपूर्ण पक्ष हो, जसले बालबालिकालाई लेखन प्रक्रियामा ध्यान केन्द्रित गर्न र नियमित अभ्यास गर्न प्रेरित गर्छ। यी क्षमताहरू नपुगेको अवस्थामा बालबालिकालाई लेख्न लगाउँदा उनीहरूको सिकाइ प्रक्रियामा बाधा पुग्छ र उनीहरूमा असफलताको डर विकास हुनसक्छ।
नेपालजस्तो देशमा, जहाँ शैक्षिक संरचना अझै प्रतिस्पर्धात्मक छ, धेरैजसो अभिभावक र शिक्षकले बालबालिकालाई छिटो लेख्न थालून् भन्ने अपेक्षा राख्छन्। विशेषगरी शहरी क्षेत्रमा, यो अपेक्षा झन् तीव्र देखिन्छ।
शहरी क्षेत्रका विद्यालयहरूले प्रायः धेरै छोटो समयमा बालबालिकालाई लेखनमा दक्ष बनाउने दबाब सिर्जना गर्छन्। यो दबाबले बालबालिकाको प्राकृतिक रुचि र सिकाइ प्रक्रियामा बाधा पुर्याउँछ। यसबाहेक, लेखाइप्रतिको प्रारम्भिक दबाबले उनीहरूमा मानसिक तनाव, असुरक्षा, र आत्मविश्वासको कमी गराउन सक्छ।
ग्रामीण क्षेत्रका बालबालिकाहरू माटो, बालुवा, काठका टुक्रा, पातहरूजस्ता प्राकृतिक सामग्रीसँग खेल्दै लेखनका आधारभूत सीप विकास गर्छन्। खेलको माध्यमबाट उनीहरूको साना मांसपेशी बलियो बन्छ, आँखा-हात समन्वय राम्रो हुन्छ, र रचनात्मकता प्रस्टिन्छ। खुला र खेलमूलक वातावरणले उनीहरूको प्रि-राइटिङ्ग सीपलाई सहज रूपमा अगाडि बढाउँछ।
तर शहरी क्षेत्रमा, विशेषगरी काठमाडौंजस्ता ठूला शहरहरूमा, बालबालिकालाई यस्ता प्राकृतिक स्रोतहरू प्रयोग गर्ने अवसर सीमित हुन्छ। शहरी बालबालिकाको लेखाइ अभ्यास कृत्रिम स्रोतहरूमै निर्भर रहन्छ। स्कूलमा सीमित गतिविधि, संरचनात्मक नियमहरू, र अभिभावकहरूको अत्यधिक अपेक्षाले उनीहरूलाई दबाबमा पार्न सक्छ।
प्रि-राइटिङ्ग सीप विकास गर्ने क्रममा खेलमूलक पद्धतिको विशेष महत्त्व हुन्छ। खेल्दै सिक्ने पद्धतिले बालबालिकाको मानसिक, शारीरिक, र सामाजिक विकासमा गहिरो प्रभाव पार्छ। यसले लेखाइप्रतिको रुचि र आत्मविश्वास बढाउन मद्दत गर्छ। खेलको माध्यमबाट बालबालिकाले आफ्नो रचनात्मकता अभिव्यक्त गर्न पाउँछन्, जसले उनीहरूको ध्यान केन्द्रित गर्ने क्षमता, समस्या समाधान गर्ने सीप, र सृजनात्मक सोचलाई बलियो बनाउँछ।
अध्ययनले देखाएको छ कि बाल्यकालमा मस्तिष्कको ९०% विकास हुन्छ। यस समयको महत्त्वलाई बुझेर अभिभावक र शिक्षकहरूले प्रि-राइटिङ्ग सीप विकासका गतिविधिहरू प्राथमिकतामा राख्नुपर्छ। यो समयमा गरिएका सिर्जनात्मक र खेलमूलक अभ्यासहरूले बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यलाई सुदृढ बनाउन मद्दत गर्छ।
लेखन प्रक्रियाको तयारी भनेको केवल अक्षर लेख्न सिकाउनु मात्र होइन, यो बालबालिकाको सम्पूर्ण शारीरिक, मानसिक, र सामाजिक विकाससँग सम्बन्धित छ। नेपालमा अभिभावक र शिक्षकहरूले बालबालिकालाई लेख्न दबाब दिने परिपाटीलाई सुधार गर्न आवश्यक छ। दबाब दिएर लेख्न लगाउनुभन्दा उनीहरूको रुचि र क्षमतालाई ध्यानमा राख्दै रमाइला गतिविधिमा सहभागी गराउनु उपयुक्त हुन्छ। यसले बालबालिकाको आत्मविश्वास बढाउँछ र उनीहरूको शैक्षिक यात्रा सहज र सफल बनाउँछ।
बालबालिकाको सिकाइ अनुभवलाई सकारात्मक र प्रेरणादायी बनाउन प्रि-राइटिङ्ग सीप विकासका तरिकाहरूमा विशेष ध्यान दिनुपर्छ। धेरैजसो शिक्षकहरूको गुनासो हुन्छ कि अभिभावकहरू विद्यालयमा आएर प्रश्न सोध्ने गर्छन्, "फलानो स्कूलमा पढ्ने नर्सरीको बच्चाले 'क'- 'ज्ञ' लेख्न सक्छ, १ देखि १०० सम्म लेख्न सक्छ, तर तपाईंको स्कूलमा राखेको एक वर्ष भइसक्यो, अझै 'A' देखि 'Z' सम्म वा १ देखि १०० सम्म लेख्न सकेको छैन।" यो प्रकारको प्रतिस्पर्धात्मक सोच र अपेक्षा बालबालिकाको शिक्षाको प्रक्रियामा अवरोध सिर्जना गर्न सक्छ। सूक्ष्म मांसपेशी बलियो नभएसम्म र आँखा-हात समन्वय राम्रो नभएसम्म लेखन प्रयासले उनीहरूलाई दबाबमा पार्न सक्छ।
तर, कतिपय अभिभावकहरू बच्चाको उमेर, क्षमताहरू, र सिकाइको चरणलाई नबुझी, लेखनमा बढी जोड दिन्छन्। प्रारम्भिक बाल्यकालको शिक्षाको उद्देश्य केवल लेखनको अभ्यास गराउनु मात्र होइन, यो सम्पूर्ण विकास—शारीरिक, मानसिक र सामाजिक—लाई सुनिश्चित गर्नु हो।
जब अभिभावकहरूले अरू विद्यालयको बच्चासँग आफ्ना बच्चाको तुलना गर्छन्, यो केवल शिक्षकहरूको लागि होइन, बालबालिकाको लागि पनि चुनौतीपूर्ण हुन्छ। यो दृष्टिकोणले सिकाइ प्रक्रियालाई दबाबमूलक बनाउँछ र बालबालिकाको स्वाभाविक सिकाइको आनन्द गुम्न सक्छ।
अभिभावकहरूलाई यो बुझाउन महत्त्वपूर्ण छ कि प्रत्येक बच्चा फरक-फरक गतिमा सिक्छ । केही बच्चाहरू चाँडै लेख्न सुरु गर्छन् भने केहीलाई समय लाग्छ। यसको अर्थ उनीहरू कम छन् भन्ने होइन। बरु, यसलाई स्वाभाविक रूपमा लिनु र उनीहरूको रुचि र क्षमताअनुसार अभ्यास गराउनु आवश्यक छ। शिक्षक र अभिभावकबीच राम्रो संवाद र सहकार्यले बालबालिकाको शिक्षालाई सकारात्मक दिशामा लैजान मद्दत गर्न सक्छ। प्रतिस्पर्धाको सट्टा बालबालिकाको व्यक्तिगत विकासमा ध्यान केन्द्रित गर्नुपर्छ। यसले उनीहरूको शैक्षिक यात्रा सहज, रमाइलो र सफल बनाउनेछ।
कागज च्यात्ने र गम प्रयोग गरेर टाँस्ने अभ्यासले साना मांसपेशी बलियो बनाउँछ। बालुवामा रेखा, अक्षर, वा आकृतिहरू बनाउने अभ्यासले लेखाइको आधार तयार गर्न सहयोग पुर्याउँछ।प्लेस्टिक क्लेबाट विभिन्न आकृतिहरू बनाउँदा फाइन मोटर स्किल्स सुधार हुन्छ।रङ्ग, आकार, वा प्रकारका आधारमा वस्तु छुट्याउनाले बालबालिकाको ध्यान केन्द्रित गर्ने क्षमता, खेलमूलक तरिकामा अक्षर ट्रेसिङ्ग, रेनबो लेखाइ (Rainbow Writing), र फिंगर पेन्टिङ्ग गराउँदा बच्चाहरूको अध्ययनमा चासो र रुचि उत्पन्न हुन्छ। यसका साथै, पहिले रेखाहरू लेख्न सिकाएर क्रमशः अक्षर लेख्न तयारी गराउँदा उनीहरूको पारम्परिक लेखाइ क्षमता रमाइलो र सृजनात्मक तरिकामा विकास हुन्छ।
बृहत मांसपेशी ठूला मांसपेशीहरूको समन्वय र नियन्त्रणसँग सम्बन्धित हुन्छ। यसमा हात, खुट्टा, र शरीरका ठूला मांसपेशीहरूको प्रयोगले दौडन, उफ्रन, खेल्न, साईकल चलाउन, र समग्र रूपमा शरीरको हलचल समावेश गर्दछ। सूक्ष्म मांसपेशी साना मांसपेशीहरूको समन्वय र नियन्त्रणसँग सम्बन्धित हुन्छ। विशेष गरी औंला, हात, र कलाईको प्रयोगमा आधारित कार्यहरूमा यसको आवश्यकता हुन्छ। यी सीपहरू लेख्न, चित्र बनाउने, कची, बटन लगाउने, र साना वस्तुहरू समात्ने कार्यका लागि महत्त्वपूर्ण हुन्छन्। पढाई लेखाईका लागि सुन्न, देख्ने र बोल्ने सिप पनि उत्तिकै आवश्यक हुने हुँदा, बेला बेला बच्चाले बोर्डमा लेखिएका कुराहरू नदेख्दा वा नसुन्दा समेत पढाइमा असहज भएको हो कि भनेर सुनिश्चित गर्नु आवश्यक हुन्छ।त्यसैले, बच्चाको श्रवण क्षमता र दृष्टि सम्बन्धी समस्या छन् कि छैनन् भन्ने सुनिश्चित गर्नुपर्छ।
#अर्याल बालविकास प्रवर्द्धक हुन्।