मंगलवार, फाल्गुण १८ २०७७
के हो खुला बिश्वबिधालय ?
नेपाल खुला विश्वविद्यालय विधिबत रुपमा विसं २०७३ / ०३ / ३० (सन् २०१६) मा स्थापना भएको हो । प्रविधिको विकाससँगै विश्वविद्यालयबाट अध्ययनको प्रमाणपत्र लिन अब कलेज धाइरहनुपर्ने पर्दैन । न कक्षाकोठा, न डेक्सबेन्च, न कलेज धाउनुपर्ने झन्झट, न त कक्षाकोठामै घण्टौं बिताउनुपर्ने बाध्यता ।
खुला शिक्षा प्रणालीद्वारा विभिन्न विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्ने, गराउने उद्देश्यकालागि नेपाल खुला विश्वविद्यालय स्थापना भएको हो । विश्वको जुनसुकै कुनामा वा घरमै बसेर पनि नेपालकै विश्वविद्यालयमा अध्ययन गर्न सकिन्छ । ल्यापटप वा कम्युटर तथा इन्टरनेटको सहयोगमा विश्वविद्यालयको उपाधि प्राप्त गर्न नेपालमा पहिलो पटक खुलेको ‘नेपाल खुला विश्वविद्यालय’ले सहज बनाइदिएको छ ।
कार्य व्यस्तताका कारण नियमित कलेज वा विश्वविद्यालयको कक्षामा सहभागी हुन नपाएका, ग्रामीण क्षेत्र वा विदेशमा बसोबास भएका, बीचमै पढाइ छुटेका, आफूमा प्रतिभा, क्षमता एवं अनुभव भएर पनि कलेजको शिक्षा लिन नसकेकाहरूका निम्ति खुला विश्वविद्यालय सजिलो माध्यम बन्न पुगेको छ ।
सन् २०१० मा गैरआवासीय नेपाली संघ (एनआएनए) तथा शिक्षा मन्त्रालयबीच भएको सहमति एवं सार्कमा खुला विश्वविद्यालय स्थापना गर्न नेपालले जनाएको प्रतिबद्धता अनुसार खुला र दूर सिकाइको विधिमार्फत अध्ययन–अध्यापन सञ्चालन गर्न नेपालमा खुला विश्वविद्यालय स्थापना भएको हो।
संसद्बवाट नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ पारित भएपछि नवीनतम शिक्षण विधि तथा प्रविधिको माध्यमबाट विभिन्न विषयका कक्षाहरू २०७५ सालको जेठदेखि कक्षा सञ्चालन भएको हो।
हाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय मानभवन ललितपुरमा छ ।
के–के विषय पढाइ हुन्छ ?
विश्वविद्यालय हालसालै मात्र सञ्चालनमा आएकाले यसका पाठ्यक्रमहरू पूर्ण रूपमा तयार भैसकेका छैनन् । बर्सेनि नया“–नया“ विषय पाठ्यक्रममा समावेश गर्दै जाने योजना विश्वविद्यालयको छ ।
हाल विश्वविद्यालयमा स्नातक, स्नातकोत्तर तथा एमफिलका कार्यक्रमहरू सञ्चालित छन् । सामाजिक शास्त्र तथा शिक्षा संकाय अन्तर्गत एमफिल इन एजुकेशन, एमफिल इन सोसल साइन्स, पिजी डिप्लोमा इन डिस्टान्स एण्ड ई–लर्निङ, डिप्लोमा इन लाइब्रेरी एण्ड इन्फर्मेसन म्यानेजम्यान्टका कक्षाहरू सञ्चालन भैरहेका छन् ।
त्यस्तै विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायमा एमफिल इन आइसिटी, मास्टर्स इन ई–गर्भनेन्सको अध्यापन भैरहेको छ भने व्यवस्थापन तथा कानुनतर्फ एमबीए, एमएसडिएमजी, बीबीएस, एलएलबीका कक्षाहरू सञ्चालित छन् । यी विषयका लागि विश्वविद्यालयका आफ्नै शिक्षक छैनन् तर दक्ष एवं सम्बन्धित विषयको काममा अनुभवी विज्ञहरूमार्फत अध्यापन गराइ“दै आएको छ ।
विद्यार्थीको मूल्यांकन एवं सिकाइ
अन्य विश्वविद्यालयभन्दा भिन्न प्रकारको खुला विश्वविद्यालयमा भर्नादेखि अध्ययन गर्ने समय तथा अध्ययन–अध्यापन गराउने तौरतरिका सबै फरक हुन्छ । विद्यार्थीहरूले निश्चित समयमा लागि आवश्यक परेको खण्डमा मात्र कलेज गए पुग्छ ।
अन्य विश्वविद्यालयमा विद्यार्थीहरू कलेज वा विश्वविद्यालय जान्छन् तर यसमा विद्यार्थी होइन, विश्वविद्यालय स्वयं विद्यार्थीकहा“ जान्छ । यहा“ प्लस टु उत्तीर्ण गरेपछि रुचि, लक्ष्य, उद्देश्य, कार्यदक्षता एवं अनुभवका आधारमा भर्ना हुन पाइन्छ ।
यो विश्वविद्यालयमा सेमेस्टर सिस्टममा पढाइ हुन्छ । एक सेमेस्टरमा तीन पटक तीन–तीन दिनको वर्कसपमा सामेल हुनुपर्छ । यो विश्वविद्यालयमा अन्य सरकारी विश्वविद्यालयमा लाग्ने खर्चभन्दा बढी शुल्क लाग्दैन भने छात्रवृत्तिको समेत व्यवस्था छ । यद्यपि, विश्वविद्यालयको न्यूनतम मापदण्डचाहिं पूरा गर्नुपर्छ । भर्नाका लागि अहिले कोटा सिस्टम निर्धारण गरिएको छ ।
खुला विश्वविद्यालयमा यतिबेला बेलुकी करिब चारघण्टा कक्षा सञ्चालन भैरहेको छ । प्रत्येक दिन फरक–फरक विषयको कक्षा सञ्चालन गरिन्छ । अनलाइन, भिडियो कन्फरेन्स आदिको माध्यमबाट शिक्षक–विद्यार्थीबीच सञ्चार गराइन्छ, यसलाई व्यक्तिगत अनलाइन सिकाइ पनि भनिएको छ । नजानेको वा नबुझेको कुरा अनलाइनमै जिज्ञासा राख्न पाइन्छ ।
शिक्षक एवं विद्यार्थीको सम्पूर्ण तथ्यांक अनलाइनमै रहन्छ । पढाइ घरमै बसेर हुने भए पनि परीक्षा भने विश्वविद्यालयले तोकेको स्थानमै गएर दिनुपर्छ । परीक्षाअन्तर्गत ४० प्रतिशत आन्तरिक मूल्यांकनका आधारमा हुन्छ भने ६० प्रतिशत केन्द्रमै गएर परीक्षामा सामेल हुनुपर्छ । काठमाडौं, पोखरा, धनगढी, कोहलपुर, इटहरी आदि स्थानमा परीक्षा केन्द्र निर्धारण गरिन्छ । विश्वविद्यालयबाट उत्तीर्ण भएको प्रमाणपत्र लिएपछि अन्य सरकारी विश्वविद्यालय सरह सरकारी मान्यता प्राप्त हुन्छ ।
नेपालमा खुला विश्वविद्यालय अवाधरणा
औपचारिक शिक्षामा नसमेटिएकाहरूलाई समेट्न बेलायतबाट खुला विश्वविद्यालयको अवधारणा शुरू भएको मानिन्छ। नेपालमा २०३६ सालपछि उच्च शिक्षामा विद्यार्थीको चाप बढ्दै गयो। त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसले भर्ना लिन सम्भव नभएपछि औपचारिक शिक्षा उपलब्ध गराउन वैकल्पिक उपायहरू खोज्नुपर्छ भनियो ।
त्यसअनुसार २०३७ सालको छैटौं पञ्चवर्षीय योजनामा ‘खुला तथा दूर शिक्षाको माध्यमबाट उच्च शिक्षा उपलब्ध गराउने’ व्यवस्था गरियो । यसका व्यवस्थापन तथा कानुन संकाय, मानविकी तथा शिक्षा संकाय र विज्ञान, स्वस्थ्य तथा प्रबिधि संकाय गरी ३ वटा संकाय छन् ।
हेर्नुस नेपाल खुला बिश्वबिधालय ऐन , २०७३ pdf मा