सोमवार, फाल्गुण १९ २०८१
काठमाडौ। निजि तथा आवासीय विद्यालय संगठन (प्याब्सन) कीर्तिपुर नगरद्वारा आयोजित अन्तर- विद्यालय क्विज प्रतियोगिता २०८१ सम्पन्न गरेको छ। गत फागुन १४ र १५ गते कीर्तिपुरको उज्वल शिशु निकेतनमा नगर अध्यक्ष तथा ग्रीन भिलेज एजुकेसन फाउन्डेसनका प्रिन्सिपल रबि भण्डारीको सभापतित्वमा तथा कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलको प्रमुख आतिथ्यमा उक्त प्रतियोगिता सम्पन्न भएको हो।

कीर्तिपुर नगरपालिका प्याब्सनको आयोजना तथा उज्ज्वल शिशु निकेतनको आयोजनामा भएको उक्त कार्यक्रममा ११ सदस्य विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
उक्त प्रतियोगिताको फाइनल राउन्डमा ल्याबरोटरी स्कुल प्रथम स्थान, पुष्पसदन स्कुल द्वितीय स्थान, ग्रीन भिलेज एजुकेसन फाउन्डेसन तृतीय र किर्ती स्कुलले चौथो स्थान हात पार्यो।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हात पार्ने विद्यालयले ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका थिए। पुरस्कार वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति तथा अध्यक्ष रबि भण्डारीले विद्यार्थीहरुको चौतर्फी बिकासलाई ध्यानमा राख्दै नगर प्याब्सनले बर्षभरी बिभिन्न CCA र ECA कार्यक्रमहरु संचालन गर्दै आएको बताउनुभयो।

उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा प्याब्सन जिल्ला कार्यसमिति उपाध्यक्ष धन बहादुर पुन र विभिन्न सदस्य विद्यालयका प्रिन्सिपल, भाइस प्रिन्सिपल, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा उज्ज्वल शिशु निकेतनका प्रिन्सिपल तथा कीर्तिपुर नगर प्याब्सनका सल्लाहकार दिलमान महर्जनले स्वागत मन्तव्य राख्नुभएको थियो।



