बिहिवार, फाल्गुण २२ २०८१
सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह भोलि फागुन २३ गते बिहान ११ बजे सुर्खेतस्थित केन्द्रीय प्रशासनिक भवन परिसर, कुइनेपानीमा हुने भएको छ। दीक्षान्त समारोहमा ३८४१ विद्यार्थी दीक्षित हुने भएका छन्।
२०६७ मा स्थापना भएको विश्वविद्यालयमा हाल ३ हजार ८४१ जना विद्यार्थीलाई अध्ययनरत छन् । तीमध्ये ८ सय ८५ जना विद्यार्थीले दीक्षान्त समारोहमा प्रत्यक्ष रूपमा सहभागिता जनाउनेछन् ।
विभिन्न संकायका स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तहका विद्यार्थीलाई दीक्षित गरिनेछ । दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षता रहनेछ । साथै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा विश्वविद्यालयका सहकुलपति विद्या भट्टराईको समुपस्थितिमा कार्यक्रम सम्पन्न हुने विश्वविद्यालयले जानकारी दिएको छ ।
दीक्षान्त समारोहमा सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति तथा जवाहरलाल नेहरु विश्वविद्यालय भारतका प्रा. डा. महेन्द्र पी. लामा प्रमुख अतिथिका रूपमा उपस्थित रहनेछन् ।
दीक्षान्त समारोहमा उत्कृष्ट विद्यार्थीहरूलाई विशेष सम्मान प्रदान गरिनेछ । स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका तीन जना विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट तीन जनालाई उपकुलपति पदक प्रदान गरिनेछ । त्यस्तै, स्नातकोत्तर तहका ११ जना र स्नातक तहका १८ जना गरी ३५ जना विद्यार्थीले प्रमाणपत्रसहित विशेष पदक प्राप्त गर्नेछन् ।
विश्वविद्यालयका अनुसार मानविकी तथा सामाजिक विज्ञान, शिक्षाशास्त्र, व्यवस्थापन, विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, कृषि तथा पत्रकारिता संकायका विद्यार्थीहरूले दीक्षित हुनेछन् ।