शुक्रवार, फाल्गुण २३ २०८१
फागुन, २३/ सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका अवसरमा शुक्रबार विभिन्न तह र संकायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन् । सुर्खेतको वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट विद्यार्थीहरु दीक्षित भएका हुन् ।

समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इञ्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामााजिकशास्त्र गरी सबै संकाय र स्कुलबाट स्नातक तहमा दुई हजार एक सय ८९ र स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा शैक्षिक सफलता हासिल गरेका एक हजार छ सय ६३ र व्यवस्थापन संकायको दर्शनाचार्य पूरा गरेका १९ गरी तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका हुन् ।

प्रधानमन्त्री ओलीले विभिन्न उत्कृष्ठ विद्यार्थीहरूलाई पुरस्कार पनि प्रदान गरेका थिए । कार्यक्रममा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका अग्रज प्राध्यापक प्रा. डा. महेन्द्र पि लामा प्रमुख अतिथि रहेका थिए । विद्यार्थीलाई दीक्षित गर्दै प्रधानमन्त्री ओलीले डिग्री गरेर जागिरका लागि भौतारिने नभइ अब आफैं उद्यमशीलता गर्ने जनशक्ति उत्पादन हुनुपर्नेमा जोड दिएका छन् । उनले आफ्नो प्रतिभा अनुसार क्षेत्र रोजेर अगाडि बढ्न विद्यार्थीलाई उनको सुझाव थियो ।
दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले कर्णाली प्रदेशको सभ्यताको इतिहास लामो रहेको जनाउदै दीक्षित विद्यार्थीहरुले समाज र देशको हितमा सदैब आफुले योगदान दिदै थप प्रगति पथमा अघि बढ्न प्रेरणा प्रदान गर्नुभएको थियो
। त्यस्तै प्रमुख अतिथि प्रा. डा. महेन्द्र पी. लामाले मध्यपश्चिम विश्वविद्यालयले आफ्नो विशेष किसिमको पहिचान बनाउदै अगाडी बढ्ने अवसर रहेको बताए। साथै दीक्षित विद्यार्थीहरुलाई कठिनाईका पर्खालहरु भत्काउदै सम्मुन्नतको बाटोमा अगाडी बढ्न सुझाव दिए।
समारोहमा उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले स्वागत गर्नुका साथै मध्यपश्चिम विश्वविद्यालयको वर्तमान अवस्था, कार्यक्रम र भावी योजनाहरु बारे मन्तव्य दिएका थिए।