बिहिवार, जेठ ९ २०८२
जेठ, ८ गते/ नवलपुर। जिल्लाको कावासोतीमा ‘पठन संस्कृति’ अभियानमा युवाहरूको आकर्षण बढेको छ । विद्युतीय उपकरण मोबाइल तथा ल्यापटप लगाएत सामाजिक सञ्चालमा व्यस्त हुने युवाहरूको पुस्तक अध्ययनमा रुची पढाउन नगर युवा सञ्जालले संचालन गरेको ‘पठन संस्कृति ’अभियानमा युवाहरुको आकर्षण बढेको हो ।
कावासोतीमा मात्र ११ हप्तादेखि युवाहरूले पुस्तक पढ्ने र त्यसमा रहेका सकारात्मक र नकरात्मक पक्षको बारेमा चर्चा गर्ने गरेका छन् ।
सुरुवाती चरणमा सीमित युवाहरू मात्र सहभागी हुने यो अभियानमा अहिले युवाको आकर्षण बढेको छ । १५/२० जना मात्र हुने कार्यक्रममा अहिले सभाहल भरिन थालेको छ । ‘यो अभियान निकै प्रभावकारी र युवाहरू सहभागी हुनै पर्ने अभियान छ । अहिले विद्यालय र क्याम्पसबाट विद्यार्थीहरू पनि यो अभियानमा हुन थालेका छन् ।’

‘पठन संस्कृति ’ अभियानमा हरेक महिनाको अन्तिम शनिबार एक जनाले एउटा पुस्तक अध्ययन गर्नुपर्ने र त्यस विषयमा साथीभाइबीच पुस्तक समीक्षा गर्नुपर्ने हुन्छ । साथै जिल्लामा क्रियाशील साहित्यकार, शैक्षिक व्यक्तित्व, लेखक, विद्यार्थीबीचमा आफ्ना अनुभव आदानप्रदान गर्दै पुस्तक अध्ययनको महत्व र लेख रचना लेखनको सीप विकाससम्बन्धी जानकारी गराइने गरिन्छ ।
११ महिनासम्म सञ्चालन भैसकेको यो अभियानमा ८ सयभन्दा बढी युवायुवती सहभागी भइसके ‘पठन संस्कृति’ अभियान सञ्चालन गरिरहेको नगर युवा सञ्जालका अध्यक्ष पवन भुर्तेलले जानकारी दिए। भुर्तेलले भने,‘अध्ययनका लागि हामीले पुस्तक उपलब्ध गराउँछौं । ‘यो अभियानले युवाहरूमा पुस्तक अध्ययन गर्ने, लेख-रचना लेख्ने र सृजनशील हुनका लागि प्रेरणा दिएको उनको भनाई छ ।
काम बाहेकको समयमा विद्युतीय उपकरणमा झुम्मिनुभन्दा पुस्तक अध्ययन गरेर बस्ने बानीको विकास सुनुका साथै युवाहरूले समूह बनाएर नियमित रूपमा किताब पढ्ने र छलफल गर्ने बानीले आपसी भाइचारासमेत बढ्ने भुर्तेलको भनाई छ ।
कुमारवर्ती बहुमुखी क्याम्पसका स्ववियु सभापति एवम् लेखक सुदीप चापागाईंले भने,‘सामाजिक सञ्जाल र मोबाइल हेरेर व्यतित हुने समयमा पुस्तक अध्ययन गरेर ज्ञान र सीप आर्जन गर्ने यो अभियान अन्य क्षेत्रमा पनी विस्तार गर्न आवश्यक छ ।’