बिहिवार, जेठ २३ २०८२
बुटवल,२२ जेठ। बुटवल उपमहानगरपालिकाले ४० जना छात्रालाई निःशुल्क इन्जिनियरिङ पढाउने भएको छ। निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने ‘छोरी पढाउ कार्यक्रम’अन्तर्गत उपमहानगरले ४० जना छात्रालाई निःशुल्क इन्जिनियरिङ पढाउने भएको हो।
निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउनkaa लागि बुटवल टेक्निकल इन्स्टिच्युटले आवेदन आह्वान गरेको छ। एसएलसी वा एसइई दिई १६ वर्ष उमेर पूरा गरेका छात्राहरुबाट प्रि–डिप्लोमा इलेक्ट्रिकल इन्जिनियरिङ र प्रि–डिप्लोमा मेकानिकल इन्जिनियरिङका लागि २०–२० जनाको आवेदन माग भएको बुटवल टेक्निकल इन्स्टिच्युटले जनाएको छ।
बुटवल उपमहानगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटअनुसार ‘छोरी पढाउ कार्यक्रम’ सञ्चालन गर्नका लागि अध्ययनका लागि लाग्ने खर्चमा पूर्ण सहयोग गर्ने गरी कार्यक्रम शुरु गरेको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। उनका अनुसार यसै शैक्षिक सत्रदेखि सञ्चालन हुने कार्यक्रम नियमित रुपमा अगाडि बढ्ने छ।
छात्राहरुलाई प्राविधिक क्षेत्रमा अगाडि बढ्न मद्दत पुग्ने र प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी यो कार्यक्रम सञ्चालन गरेको उनले बताए। उपप्रमुख सावित्रादेवी अर्यालले छात्राहरुबाट प्राविधिक जनशक्ति उत्पादनमा जोड दिने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको बताइन्।
