शुक्रवार, आषाढ २७ २०८२
काठमाडौँ। नेपालको शिक्षा प्रणालीले अहिलेको बहुविविधतापूर्ण सामाजिक संरचनालाई सम्बोधन गर्न सैद्धान्तिक मात्र नभई व्यवहारिक रूपमै समावेशी र सन्दर्भ-सापेक्ष शिक्षण दृष्टिकोण आवश्यक पारेको छ। बहुसांस्कृतिक, बहुभाषिक र भौगोलिक विविधता भएको देशमा एउटै समाधान सबैका लागि उपयुक्त हुँदैन भन्ने कुरा स्पष्ट हुँदै गएको छ। त्यसैले शिक्षा अब केवल पाठ्यपुस्तकको तथ्य र परीक्षा उर्तिणतामा सीमित हुन सक्दैन; यसले विद्यार्थीको जीवन, सामाजिक यथार्थ, र स्थानीय ज्ञानसँग गहिरो सम्बन्ध कायम गर्नुपर्छ। यस्ता शिक्षाको केन्द्रीय तत्व शिक्षक नै हुन्, जो सामाजिक रूपान्तरणका संवाहकका रूपमा आफ्ना व्यवहार र दृष्टिकोणमार्फत शिक्षणलाई नविन र सजीव बनाउँछन्। स्थानीयता, समावेशिता, र संवेदनशीलता अँगालेका यस्ता शिक्षकहरूले मात्र शिक्षा प्रणालीलाई वर्तमान युगअनुकूल बनाउँदै लैजान सक्छन्।
समयसापेक्ष असल शिक्षकको मूल्याङ्कन अब केवल ‘के कति पढाए?’ मा सीमित रहन मिल्दैन; बरु ‘कसरी पढाए?’, ‘कसलाई पढाए?’ र ‘कति सान्दर्भिक तरिकाले पढाए?’ भन्ने प्रश्नहरू झनै सान्दर्भिक बनेका छन्। नवप्रवर्तनशील शिक्षकहरू परिवेशको आवश्यकताअनुसार शिक्षण शैलीमा रूपान्तरण ल्याउन सशक्त हुन्छन्, जसले विद्यार्थीलाई केन्द्रमा राखी सिकाइलाई सजीव र सम्वेदनशील बनाउँछन्। यस्ता शिक्षकहरूले केवल विषयवस्तु हस्तान्तरण गर्दैनन्, बरु विविध पृष्ठभूमिका विद्यार्थीहरूसँग सहानुभूतिपूर्ण व्यवहार गर्दै, उनीहरूको सामाजिक र भाषिक यथार्थलाई शिक्षण अभ्याससँग गाँस्छन्। नीति र व्यवहारबीचको सन्तुलन मिलाउँदै, शिक्षा प्रणालीभित्रैबाट गहिरो रूपान्तरण गर्न सक्ने सामर्थ्य उनीहरूमा हुन्छ। यस्तो शिक्षण दृष्टिकोणले नै शिक्षकलाई समयसापेक्ष, उत्तरदायी, र परिवर्तनमुखी बनाउँछ—जो आजको नेपाललाई आवश्यक छ।
रूपान्तरणको प्रक्रिया शिक्षकको सोच, व्यवहार र दृष्टिकोणबाट सुरु हुन्छ। असल शिक्षक केवल जानकारी दिने होइनन्, बरु विद्यार्थीलाई सोच्न, प्रश्न गर्न र आफ्नै अनुभवमाथि प्रतिबिम्ब गर्न प्रेरित गर्छन्। उनीहरूले स्थानीय ज्ञान, समुदायको आवश्यकताहरू, र सांस्कृतिक यथार्थलाई शिक्षण प्रक्रियामा समेट्छन्, जसले पाठ्यक्रमलाई जीवित बनाउँछ। जब शिक्षक समुदायसँग सहकार्य गरेर शिक्षण अभ्यासलाई स्थानीय बनाउँछन्, तब शिक्षा केवल किताबी ज्ञान नभई विद्यार्थीको जीवनसँग प्रत्यक्ष जोडिन्छ। यस्तो अभ्यासले शिक्षा सन्दर्भीय, व्यवहारिक र प्रभावकारी बनाउँछ, र शिक्षकलाई सामाजिक रूपान्तरणको संवाहकका रूपमा परिभाषित गर्छ।
नेपालको जस्तो बहुसांस्कृतिक समाजमा शिक्षा तब मात्रै सार्थक र प्रभावकारी हुन सक्छ, जब त्यो सामाजिक विविधता, सांस्कृतिक पहिचान, र भाषिक पृष्ठभूमिलाई सम्मान गर्दै समावेशी दृष्टिकोणमा आधारित हुन्छ। “सबैका लागि एउटै उपाय” भन्ने शिक्षण मोडेलले विभिन्न समुदायका विद्यार्थीहरूको यथार्थलाई बेवास्ता गर्छ, जसका कारण उनीहरू शिक्षा प्रणालीबाट अलगिन सक्ने खतरा रहन्छ। त्यसैले, प्रत्येक विद्यार्थीको सांस्कृतिक र भाषिक पृष्ठभूमिअनुसार शिक्षण पद्धतिलाई अनुकूल बनाउनु आवश्यक हुन्छ। समावेशी शिक्षाले विद्यार्थीको अनुभव र आवाजलाई सिकाइको केन्द्रमा राख्छ, जसले कक्षाकोठालाई केवल ज्ञानको स्रोत नभई आत्मसम्मान, पहिचान र सामाजिक न्यायको अभ्यास स्थल बनाउँछ। यस्ता शिक्षण अभ्यासहरूले शिक्षा प्रणालीलाई संवेदनशील, न्यायसम्मत र सबैका लागि पहुँचयोग्य बनाउन योगदान दिन्छन्।
यसै सन्दर्भमा, शिक्षाको बहु-दृष्टिकोणीय र बहु-विधात्मक प्रविधिहरूले शिक्षणलाई अझ सजीव र जीवनमुखी बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ। केवल तथ्य र निष्कर्षको हस्तान्तरणमा सीमित शिक्षाले विद्यार्थीको भावनात्मक, सामाजिक र सृजनात्मक पक्षलाई सम्बोधन गर्न सक्दैन। संवादात्मक, कथात्मक, रूपकात्मक र कवितात्मक शैलीहरू प्रयोग गरेर शिक्षकले विद्यार्थीको कल्पनाशक्ति, जिज्ञासा र आलोचनात्मक सोचलाई सक्रिय बनाउँछन्, जसले सिकाइलाई जीवन अनुभवसँग गाँसिएको बनाउँछ। यस्ता विधाहरूले विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी, बाह्य संसारको जटिलता र विविधतासँग जुध्न सक्ने सामर्थ्य दिन्छन्। यसले शिक्षालाई केवल परीक्षा उर्तिण गर्ने साधन नभई आत्मबोध र सामाजिक समझदारी विकास गर्ने प्रक्रियामा रूपान्तरण गर्छ।
नेपाली शिक्षकहरूको भूमिकालाई पुनः परिभाषित गर्न आवश्यक छ। केवल के पढाउने भन्ने होइन, शिक्षणको उद्देश्य, प्रक्रिया र सन्दर्भप्रति प्रश्न उठाउने क्षमताले शिक्षकलाई रूपान्तरणका संवाहक बनाउँछ। केही नेपाली शिक्षकहरूले आफ्ना भोगाइ, सांस्कृतिक पृष्ठभूमि, र समुदायको यथार्थलाई शिक्षण अभ्यासमा प्रतिबिम्बित गर्न थालेका छन्। उनीहरूको अनुभव स्वयं शिक्षाको जटिलता र चुनौतीको प्रतिबिम्ब हो, जसलाई सम्बोधन गर्न उनीहरूले आत्ममूल्यांकन, सृजनात्मक प्रयोग र सन्दर्भअनुकूल रणनीति अपनाउन थालेका छन्। यस्तो शिक्षण दृष्टिकोणले शिक्षा प्रणालीलाई केवल औपचारिक संरचनाबाट मुक्त गरी सामाजिक, सांस्कृतिक र मानवीय रूपान्तरणको माध्यम बनाउँछ।
नेपालको वर्तमान शिक्षा प्रणालीमा कक्षा कोठा र समुदायबीचको सम्बन्ध कमजोर हुँदै गएको छ, जसका कारण शिक्षण सिकाइ प्रक्रिया जीवनको यथार्थसँग टाढिँदै गएको छ। विद्यालय र घरबीच दूरी रहँदा विद्यार्थीको सिकाइ केवल कक्षाकोठाभित्र सीमित रहन्छ र व्यवहारिक जीवनमा त्यसको प्रयोग अपूरो रहन्छ। यस्तो दूरी घटाउन शिक्षकले समुदायसँग सक्रिय सहकार्य गर्नु अत्यावश्यक हुन्छ। स्थानीय समाज, अभिभावक र सामाजिक संस्थाहरूसँग सहकार्य गरेर शिक्षकले पाठ्यक्रमलाई जीवनमुखी, सान्दर्भिक र व्यवहारिक बनाउन सक्दछन्। जब शिक्षण सामाग्री स्थानीय सन्दर्भ, अनुभव र आवश्यकतामा आधारित हुन्छ, तब शिक्षा केवल किताबी ज्ञान नभई जीवनको मार्गदर्शक बन्न सक्दछ। यसरी कक्षाकोठा र समुदायबीच सेतु निर्माण गर्न सक्ने शिक्षकहरू नै वास्तवमा शिक्षा रूपान्तरणका संवाहक हुन्छन्।
शिक्षा रूपान्तरणको अर्को महत्वपूर्ण आयाम भनेको शिक्षकको आलोचनात्मक आत्ममूल्यांकन हो। आत्मसजग शिक्षकले आफ्नो भूमिकाप्रति गहिरो उत्तरदायित्व बोध गर्छन् र आफ्नो शिक्षण अभ्यास निरन्तर पुनरावलोकन गर्न तत्पर हुन्छन्। आत्म-प्रतिबिम्बन, जर्नल लेखन, सहकर्मी अवलोकन र पूर्वाग्रहको पहिचानजस्ता अभ्यासहरू शिक्षकको व्यावसायिक विकासमा सहायक हुन्छन्। यस्ता अभ्यासहरूले शिक्षणमा रहेका कमजोरी र सुधारका सम्भावनाहरूलाई उजागर गर्छन्, जसले शिक्षकलाई संवेदनशील, लचिलो र उत्तरदायी बनाउँछ। समयअनुकूल सोच, व्यवहार र दृष्टिकोणमा परिवर्तन ल्याउन सक्ने शिक्षकहरू नै शिक्षालाई समावेशी, सन्दर्भीय र परिवर्तनमुखी बनाउने खम्बा हुन्। त्यसैले, शिक्षा प्रणालीको सशक्तिकरणका लागि शिक्षकको आत्ममूल्यांकन अपरिहार्य अभ्यास हो।
शिक्षा प्रणालीको रूपान्तरण शिक्षक सशक्तिकरण बिना सम्भव छैन। शिक्षकलाई शिक्षणका परम्परागत साँचोबाट बाहिर निकालेर परिवर्तनका संवाहक बनाउने हो भने उनीहरूलाई निर्णय प्रक्रियामा सक्रिय सहभागी बनाउनु अनिवार्य हुन्छ। निरन्तर पेशागत विकासको प्रयाप्त अवसर दिनुपर्छ। पाठ्यक्रम निर्माणमा शिक्षकको सहभागिता उनीहरूको अनुभव र सन्दर्भीय ज्ञानलाई संस्थागत गर्नका लागि आवश्यक छ। शिक्षण तालिकामा लचीलोपन, सन्दर्भअनुकूल सामग्रीको विकास, र निरन्तर व्यावसायिक विकासका अवसरहरूले शिक्षकलाई आत्मविश्वासी, सृजनशील र उत्तरदायी बनाउँछ। यस्तै, अन्तरदृष्टि र अनुभव आदानप्रदानका कार्यक्रमहरूले विविध सन्दर्भ र दृष्टिकोणबारे बुझाइ बढाउँछ, जसले शिक्षणलाई बहुआयामिक र जीवनमुखी बनाउँछ।
समयसापेक्ष असल शिक्षक अब केवल कक्षामा अध्यापन गर्ने व्यक्ति मात्र होइनन्; उनीहरू बहुआयामिक भूमिकामा रूपान्तरित भएका सामाजिक अभियन्ता, नीति विश्लेषक, र परिवर्तनका संवाहक हुन्। यस्ता शिक्षकले शिक्षणलाई केवल तथ्य प्रस्तुत गर्ने अभ्यास होइन, शिक्षा प्रणालीलाई प्रश्न गर्ने, पुनरावलोकन गर्ने र स्थानीय सन्दर्भमा अनुकूल बनाउने जिम्मेवारीका रूपमा लिन्छन्। उनीहरूले अन्वेषकका रूपमा शिक्षाको प्रभावकारिता मापन गर्छन्, संस्कृतिकर्मीका रूपमा विविधताको सम्मान गर्छन्, र समाजकर्मीका रूपमा समुदायसँग सहकार्य गर्दै सामाजिक आवश्यकतालाई सम्बोधन गर्छन्। नीति निर्माणमा पनि उनीहरूको योगदान महत्त्वपूर्ण हुन्छ, जहाँ उनीहरूले आफ्ना अनुभव, अनुसन्धान र मूल्य–आधारित दृष्टिकोणमार्फत शिक्षाको मार्गचित्रलाई रूप दिन सक्छन्। यसरी शिक्षकको भूमिकालाई पुनः परिभाषित गर्दा उनीहरू सामाजिक रूपान्तरणको केन्द्रबिन्दु बन्ने आधार तयार हुन्छ।
यस परिवर्तनकारी भूमिका सम्हाल्न शिक्षकको शिक्षण अभ्यासले समग्र विकासलाई समेट्ने आवश्यक छ—जहाँ केवल ज्ञान होइन, मूल्य, चेतना, संवेदना र सिर्जनशीलता पनि स्थान पाउँछ। यसै अनुरूप, भावनात्मक पक्षमा शिक्षकले विद्यार्थीलाई आत्म–अभिव्यक्तिको सुरक्षित वातावरण दिनुपर्छ, जसले उनीहरूलाई आन्तरिक सन्तुलन र आत्मविश्वास प्रदान गर्छ। नैतिक शिक्षाले विद्यार्थीमा जिम्मेवारी, सहानुभूति र सामाजिक न्यायप्रतिको प्रतिबद्धता विकास गर्छ, जबकि सामाजिक पक्षमा सहकार्य, संवाद र द्वन्द्व समाधान जस्ता व्यवहारिक सीपहरू सिकाइन्छ। सिर्जनात्मक पक्षले विद्यार्थीलाई स्थानीय कला, सांस्कृतिक अभिव्यक्ति र सिर्जनशील सोचमार्फत आफ्ना पहिचानप्रति गौरव गर्न सिकाउँछ। यस्ता समग्र र सन्दर्भीय अभ्यासहरूबाट मात्रै शिक्षाले वास्तवमै जीवनलाई अर्थ दिने शक्ति प्राप्त गर्छ, र शिक्षकलाई परिवर्तनको साँचो संवाहक बनाउँछ।
शिक्षामा स्थानीयता र प्रयोगशीलताको महत्व अत्यन्तै गहिरो छ, विशेष गरी नेपालजस्तो बहुसांस्कृतिक र बहुभाषिक समाजमा। स्थानीय कला, संगीत, नृत्य र परम्परागत अभ्यासहरूलाई शिक्षण प्रक्रियामा समावेश गर्दा सिकाइ केवल सैद्धान्तिक सीमामा बन्द रहँदैन, बरु जीवन्त, अर्थपूर्ण र विद्यार्थीको रोजगारी र सामाजिक जीवनसँग सान्दर्भिक हुन्छ। उमेरअनुसार सहकार्य र सामुदायिक परियोजनाहरूले विद्यार्थीहरूलाई केवल व्यक्तिगत विकासमा सीमित नराखी सामाजिक जिम्मेवारी र सहकार्यको भावना विकास गराउँछन्। यसरी शिक्षक र विद्यार्थी दुवैलाई निरन्तर वृद्धि र सुधारतर्फ प्रेरित गर्छ।
नेपालको शिक्षा प्रणालीमा आमूल परिवर्तन शिक्षकहरूको सक्रिय सहभागिता र संवेदनशीलताबाट मात्र सम्भव छ। शिक्षकहरू समाज रुपान्तरणका संवाहक हुन्, जसले कक्षा कोठामा दैनिक अभ्यास मार्फत शिक्षा प्रणालीलाई भित्रबाट रूपान्तरण गर्ने शक्ति राख्छन्। यिनले ज्ञान हस्तान्तरण मात्र होइन, सोच, मूल्य र व्यवहारमा परिवर्तन ल्याउन सक्ने सामर्थ्य राख्छन्। प्रत्येक शिक्षकले आफ्नो पेशागत भूमिकालाई सामाजिक रूपान्तरणको अवसरको रूपमा स्वीकार गर्दा मात्र शिक्षा प्रणाली दीर्घकालीन र सुसंगत विकासतर्फ अघि बढ्न सक्छ।
लेखक: डम्मर सिंह साउद उपप्राध्यापक, सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पस