Jul 27 2026 | २०८३, श्रावण ११ गते

सबै विश्वविद्यालय र स्वास्थ्य बिज्ञान प्रतिस्ठानको बजेट र कार्यक्रम स्वीकृत

सबै विश्वविद्यालय र स्वास्थ्य बिज्ञान प्रतिस्ठानको बजेट र कार्यक्रम स्वीकृत

  • 504
    SHARES

  • सबै विश्वविद्यालय र स्वास्थ्य बिज्ञान प्रतिस्ठानको बजेट र कार्यक्रम स्वीकृत

    असार, ३२ गते/काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा नयाँ आर्थिक वर्ष सुरु हुनु अगावै सबै विश्वविद्यालय र स्वास्थ्य बिज्ञान प्रतिष्ठानले आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम पारित गराएका छन् ।

    विश्वविद्यालयहरूको आर्थिक स्वच्छता र मुलुकको संसदीय लोकतान्त्रिक प्रणाली र विद्यमान आर्थिक ऐनसम्बन्धी व्यवस्था अनुकूल हुने गरी सबै विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले एकै समयमा बजेट पारित गरेका हुन् ।

    चालु आवको अन्तिम दिन आज मात्रै नेपाल संस्कृत विश्वविद्यालयको ७८ औँ र लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औ सभा बैठक सम्पन्न भएको छ । आजै चिकित्सा शिक्षा आयोगको बैठक पनि राखिएको छ ।

    असार ३१ गते एकै दिन चार वटा विश्वविद्यालयको सभा बैठक (सिनेट) भएका थिए । उक्त दिन पूर्वाञ्चल विश्वविद्यालयको ४१ औँ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १५ औँ, कृषि तथा वन विज्ञान विश्वविद्यालयको १४ औँ, र सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभा बैठक सम्पन्न भई बजेट तथा कार्यक्रम पारित भएको थियो ।

    यस्तै असार २६ गते त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा, असार २५ गते पोखरा विश्वविद्यालयको २५ औँ, असार ३० गते मध्यपश्चिम विश्वविद्यालयको १७ औैं, राजर्षि जनक विश्वविद्यालयको १० औँ सभा बैठक भई बजेट पारित भएको थियो ।

    यसअघि काठमाडौँ विश्वविद्यालय, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभा बैठक आयोजना भइसकेको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा दीपक अर्याल यही असार २५ गते मात्रै नियुक्त भएकाले असार २६ गतेको सिनेटमा नीतिगत कार्यक्रम पनि स्थगन गरी चाँडै अर्को बैठकमा ल्याउन भनिएको छ ।

    कुलपति ओलीको तत्परतामा सबै विश्वविद्यालय (प्रतिष्ठान)हरूले नयाँ आर्थिक वर्ष लाग्नु अगावै आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिका लागि छोटो सूचनामा पनि यसरी विश्वविद्यालयको सभा राखिएको मुलुककै पहिलो शैक्षिक परिघटना साबित भएको बताइएको छ ।

    साथै विश्वविद्यालयहरूका स्रोत सुनिश्चितबिनाका बजेट र कार्यक्रम राख्ने क्रम पनि रोकिएका छन् । केही विश्वविद्यालयले घाटा बजेटसमेत प्रस्ताव गरेको स्थितिमा कुलपति ओली, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसहितको मार्गदर्शनमा यथार्थ बजेट हुने गरी संशोधित प्रस्ताव पारित भएको छ ।

    लामो समयसम्म लेखापरीक्षण नहुने र उक्त प्रतिवेदन सभामा पेस नहुने परिपाटी तथा लामो समय बेरुजु फर्छ्योट नहुने प्रवृत्ति पनि निरुत्साहित भएको छ । कुलपति ओलीले आगामी दिनमा आर्थिक वर्ष अगावै स्वीकृत नभएको बजेटपछि अनुमोदन नहुने स्पष्ट पारिसकेका छन् ।

    अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले प्रधानमन्त्री एवं कुलपति ओलीले साउन १ गते अगावै सबै विश्वविद्यालयहरूले अनिवार्य रुपमा पारित बजेट मात्रै कार्यान्वयनमा ल्याई थिति बसाल्न दिएको निर्देशन कार्यान्वयनमा आउनु सकारात्मक भएको बताए ।

    उनले यसबाट सरकार र विश्वविद्यालयको सम्पर्क र सम्बन्ध पनि सुमधुर भई बजेट र कार्यक्रममा समन्वय विस्तार सहयोग पुग्नुका साथै लेखा परीक्षणमा पनि सहयोग मिल्ने प्रतिक्रिया दिए । कृषि तथा वन विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा शारदा थपलियाले कुलपतिको यस प्रकारको निर्देशनले आफूहरूलाई शैक्षिक क्यालेण्डर कार्यान्वयन र सुशासन कायममा ऊर्जा मिल्ने बताए ।

    विगतमा आर्थिक वर्ष सुरु भइसकेपछि पनि वार्षिक बजेट र कार्यक्रम प्रस्तुत र पारित हुने, कतिपय विश्वविद्यालयका पदाधिकारीको रिक्तता र विवादका कारण सिनेट बैठक हुन नसक्दा विश्वविद्यालयहरूका आर्थिक थिति बस्न सकेको थिएन ।

    यस वर्ष प्रधानमन्त्री एवं कुलपति ओलीले ६ महिना अगावैदेखि आगामी आवको बजेट यस आवभित्र पारित गर्न पटक पटक निर्देशन दिएका थिए ।

    images
    बुधवार, श्रावण १ २०८२०४:४२:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार