सोमवार, श्रावण २७ २०८२
साउन, २६ गते/ काठमाडौँ । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौँ जिल्लास्तरीय अन्तर- विद्यालय फूटसल प्रतियोगिता सम्पन्न भएको छ। गत साउन २३, २४ र २५ गते सुकेधारास्थित बागमती बोर्डिङ स्कुलमा भएको उक्त प्रतियोगिता सम्पन्न भएको हो।

काठमाडौँ जिल्लाभर बाट छानिएका ४५ विद्यालयबाट फाइनल खेलमा एक्टिभ एकेडेमीलाई हराउदै पिस प्वाइन्ट स्कुलले उपाधी हासिल गर्यो। उक्त प्रतियोगितामा एक्टिभ एकेडेमि द्वितीय र शुभकामना स्कुलले तृतीय स्थान हासिल गर्यो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हात पार्ने टिमले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

उक्त प्रतियोगितामा एक्टिभ एकेडेमिका विनोद भण्डारी उत्कृष्ट खेलाडी घोषित भए । पिस प्वाइन्टका सागर दर्जी उत्कृष्ट गोलरक्षक चुनिए । त्यसैगरी प्रतियोगिताभर १२ गोल गरेका पिस प्वाइन्टका प्रज्ञान राई सर्वाधिक गोलकर्ता बने।

प्रतियोगितामा विजेता टिमलाई प्याब्सन बागमती प्रदेशका अध्यक्ष मुरारीप्रकाश सन्जेल, काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, प्याब्सनका प्राज्ञिक सल्लाहकार तथा बागमती स्कुलका संस्थापक प्रिन्सिपल सुरेन्द्र सिटौला, प्याब्सन केन्द्रीय सचिवालय सदस्य प्रलाद खनाल, काठमाडौं महानगर प्याब्सनका अध्यक्ष गगनसिंह ऐर, जिल्ला उपाध्यक्ष तथा इसिए इन्चार्ज धनबहादुर पुन, सुर्य बहादुर भण्डारी, आरबी अधिकारी, काठमाडौं महानगर प्याब्सनका उपाध्यक्ष रबिन बस्नेत, इसीए विभाग प्रमुख राजकुमार बोगटीलगायतले खेलाडीहरुलाई पुरस्कृत गरे ।

खेलहरु प्याब्सन काठमाडौँ जिल्लाको आयोजना र काठमाडौँ महानगरको संयोजनमा भएको थियो।
पढाई संगै शारीरिक तथा मानसिक विकासको लागि आयोजना गरिएको फूटसल प्रतियोगिता काठमाडौँ जिल्लाअन्तर्गत रहेका नगरपालिकाभरका ६ सय भन्दा बढी विद्यालयबाट छनोट भएर त्यहाँको सदस्य संख्याका आधारमा १५ विद्यालय बराबर एक टिम छनोट गरिएको थियो। उक्त प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरुले भाग लिएका थिए।

उक्त प्रतियोगिता समापन समारोह संचालन काठमाडौं महानगर प्याब्सनका सचिव एवं गण्डकी स्कुलका प्रिन्सिपल आरसी भट्टले गर्नुभएको थियो।




