सोमवार, श्रावण २७ २०८२
आउन, २६ गते/काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागमा गाभिएको कार्यक्रमको शुल्क घटाउनुपर्ने माग राख्दै बिगत १९ दिनदेखि त्रिविको ढोकामा धर्ना दिइरहेका अखिल क्रान्तिकारीका विद्यार्थी र प्रहरीबीच धरपकड भएको छ । सोमबार अपरान्ह साढे ४ बजेतिर धर्नामा रहेका विद्यार्थी त्रिवीका रेक्टरको कार्यालयमा प्रवेश गर्न खोज्दा प्रहरीले रोक्न खोजपछि धरपकड भएको अखिल (क्रान्तिकारी)ले जनाएको हो ।
धरपकडका क्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवम त्रिवि जिल्ला इञ्चार्ज ममता जोशी त्रिवी क्याम्पस जिल्ला सचिव सुरक्षा पहारी र आरआर क्याम्पस उपाध्यक्ष सुशिल नेपाली लगाएत विद्यार्थी नेताहरू घाइते भएको बताइएको छ। शान्तिपुर्ण धर्ना दिइरहेको र रेक्टरको कार्यालयमा जान खोज्दा प्रहरीले दमन गरेपछि झडपको अवस्था सृजना भएको अखिल (क्रान्तिकारी) बताएको छ। घाइतेलाई कीर्तिपुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
धरपकड पश्चात् विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार र रेक्टर कार्यालयमा तोडफोड गरेका छन्।
धरपकडका क्रममा अखिल (क्रान्तिकारी)का उपाध्यक्ष अटल आचार्य, उपमहासचिव एवम उपत्यका प्रदेश इन्चार्ज निरोज श्रेष्ठ, संगठनका सचिव युन्छोहाङ माबो लिम्बु र जितेन्द्र भण्डारी, केन्द्रीय सदस्य उमेश सेन्चुरी, त्रिवी क्याम्पस जिल्ला अध्यक्ष प्रदिप भण्डारी, त्रिवि जिल्ला कार्यवाहक अध्यक्ष शिबराज भट्ट, प्रविन दाहाल, धर्ना आन्दोलनको संयोजक मनिष चौलागाई लगायत एक दर्जन विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विद्यार्थीको पुर्व निर्धारित र शान्तिपुर्ण धर्नामा गरिएको सरकारी आक्रमणको घोर निन्दा गर्दै लोकतान्त्रिक मूल्य माथि गरिएको हमलाको लागि नेपाल सरकारले सार्वजनिक रूपले माफी माग्न, गिरफ्तार विद्यार्थी तत्काल रिहा गर्न, घाइते विद्यार्थीको उपचार गर्नुपर्ने माग राखेको छ।
