सोमवार, भाद्र १६ २०८२
भदौ, १६ गते/ बिरगंज। गृहमन्त्री रमेश लेखकले निजी विद्यालयलाई क्रमश: गैरनाफामूलक बनाउँदै लैजाने प्राबधान नराखिने बताएका छन् ।
पर्साको वीरगंजमा आयोजित एउटा कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले संसदीय समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकमा रहेको निजी विद्यालयलाई क्रमशः गैर नाफामूलक बनाउँदै लैजाने प्रस्ताव हटाइने बताएका हुन्।
यस बारेमा मन्त्रिपरिषद् बैठकमा पनि छलफल भएको लेखकले बताए। निजी विद्यालयहरूलाई क्रमश: गैरनाफामूलक बनाउँदै लैजाने भन्ने व्यवस्था छ, यसका बारेमा म प्रस्ट कुरा गर्न चाहन्छु, त्यो व्यवस्था हटाइन्छ, निजी क्षेत्रका विद्यालयलाई समाप्त गर्ने काम गरिँदैन,’ उनले भने ।
वीरगन्जमा आइतबार निजी विद्यालयहरुले प्रतिनिधिसभामा पेश भएको शिक्षा विधेयकमा रहेको केही प्रावधानमा असहमति रहेको र सो सुनुवाइ गरिदिनु पर्ने माग सहितको ज्ञापन पत्र गृहमन्त्रीलाई बुझाइएको थियो ।
सो क्रममा गृहमन्त्री लेखकले यस विषयमा कुनै द्विविधा नभएको र मन्त्रिपरिषदमा समेत यस विषयमा छलफल भइसकेको समेत बताए । उनले सरकारी विद्यालयहरूलाई पनि राम्रो बनाउँदै निशुल्क शिक्षा दिने जिकिर गरे ।
निजी विद्यालयहरुले गृहमन्त्री लेखकलाई ज्ञापन पत्र बुझाउँदै आफ्ना मागहरू सम्बन्धमा सरकारलाई गम्भीर बन्न आग्रह समेत गरेका थिए।