सोमवार, आश्विन २० २०८२
२०, असोज/ पोखरा। श्रम शोषण गरेको भन्दै पोखरा महानगरपालिका–११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरू आन्दोलित भएका छन्।
सरकारले श्रमिकहरूका लागि तोकेको न्यूनतम पारिश्रमिक १९ हजार तीन सय समेत नपाएको, यसअघि रहेको सात घण्टाको समय बढाएर काम गर्ने समय आठ घण्टा बनाएको, वार्षिक रुपमा पाउँदै आएको चाडपर्व बिदा, घर बिदा, बिरामी बिदा लगायतका अन्य बिदाहरू कटौती गरिएको भन्दै अस्पतालमा कार्यरत नर्सहरू शनिबार साँझदेखि आन्दोलित भएका हुन् ।
उनीहरूले आफ्नो काम जारी राख्दै अस्पताल परिसरमा प्लेकार्डसहित धर्ना र नराबाजी गर्दै प्रदर्शन गरेका थिए। आन्दोलनमा उत्रेका नर्सहरूले ‘हामीलाई न्याय दे! श्रम शोषण बन्द गर ! हामी मेसिन हैन नर्स हौँ! लगायतका नरा लगाएका थिए ।
सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक १९ हजार तीन सय कायम गरे पनि अस्पतालले जम्मा १६ हजार दिने गरेको, सात घण्टाको कार्य समय ढेड महिनाअघि एक घण्टा बढाएर आठ घण्टा पुर्याएको, यसअघि वार्षिक रुपमा पाउँदै आएको बिदाहरू समेत अस्पताल प्रशासनले कटौती गरेकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको उनीहरूले बताए ।
आफूहरु मर्कामा परेको भन्दै अस्पताल प्रशासनलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत माग सम्बोधन गर्न बेवास्ता गरेपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको उनीहरूको भनाइ छ । अस्पतालमा कार्यरत तीन सय नर्सहरूलाई अस्पतालले श्रम शोषण गरेको उनीहरूले जानकारी दिए ।
यद्यपि अस्पतालका निर्देशक डा. अभिषेक मास्केले तलब वृद्धि गर्ने सहमतिपछि हाललाई नर्सहरूको आन्दोलन एक साताका लागि अन्त्य भएको जानकारी दिएका छन। एक साताभित्र उनीहरूले योग्यता, अनुभव लगायतका कुराहरु हेरेर समयसापेक्ष तलब बढाउने सहमतिभएपछि आन्दोलन हाललाई स्थगित भएको उनले जानकारी दिए । आन्दोलनरत नर्सहरू र अस्पताल प्रशासनबिचको वार्तापछि एक साताभित्र तलब बढाउने नभए नर्सहरूले पुनः आन्दोलन गर्ने सहमतिपछि वार्ता सकिएको मास्केले जानकारी दिए ।