शुक्रवार, मंसिर २७ २०८२
काठमाडौं । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौँ जिल्ला स्तरीय अन्तर - विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला प्याब्सन, काठमाडौंको आयोजना तथा नगर प्याब्सन, तार्केश्वरको संयोजनमा भएको बास्केटबल प्रतियोगितामा बिहीवार फाइनल चरणका खेल हुँदै सम्पन्न भएको हो।
उक्त बास्केटबल प्रतियोगिताको उपाधी स्युचाटरस्थित रेडियन्ट पब्लिकले जितेको छ। प्रतियोगिताको दोस्रो स्थान न्युटन स्कुलले हात पार्यो। मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमीको कोर्टमा भएको फाइनलमा रेडियन्टले न्युटनलाई ५६–४३ ले पराजित गर्दै उपाधी जितेको हो ।

प्रतियोगितामा रेडियन्टका सुप्रित लामिछाने र सुगम राना मगरले समान १६ स्कोर गरे। सुरुका २ क्वाटरमा रेडियन्टले १४–११ र ९–४ को अग्रता लिएको थियो । तेश्रोमा रेडियन्ट १४–१७ ले पछि गर्यो । चौथोमा रेडियन्टले १९–११ को अग्रता बनाउदै जित सुनिश्चित गर्यो ।

उक्त प्रतियोगितामा काठमाडौँ भ्याली स्कुलले टीआईएलाई हराउदै तेस्रो स्थान हासिल गर्यो । भने टिआइएले चौथो स्थान सुरक्षीत गर्यो। उक्त खेलमा केभीसीले टीआईएलाई २८–११ ले हरायो । केभीसीका लागि समर्पण नगरकोटीले ११ अंक जोडे । शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे।
उक्त प्रतियोगितामा रेडियन्टका अमोसन मोक्तान ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । प्रतियोगिताभर ६० स्कोर गरेका न्युटनका उज्ज्वल श्रेष्ठ सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे।
विजेता खेलाडिलाई प्रमुख अतिथी तथा प्याब्सनका केन्द्रिय सह–अध्यक्ष गोपाल आचार्य, जिल्ला प्याब्सन, काठमाडौंका अध्यक्ष नवराज भट्ट, जिल्ला सल्लाहाकार राम वहादुर केसी, काठमाडौंका उपाध्यक्ष एवं इसीए विभाग प्रमुख धनबहादुर पुन, उपाध्यक्ष सुर्य बहादुर भण्डारी, जिल्ला सचीव कृष्ण भण्डारी, कोषाध्यक्ष डिएन अधिकारी, प्याब्सन तार्केश्वरका अध्यक्ष गोपाल बुढाथोकीलगायतले पुरस्कृत गरे।
चार दिन सम्म चलेको उक्त बास्केटबल प्रतियोगितामा ३६ टिम सहभागी भएका थिए भने खेलहरु नकआउट आधारमा खेलाइएका थिए । उक्त प्रतियोगितामा बोल्दै प्याब्सन केन्द्रिय सह- अध्यक्ष गोपाल आचार्यले बिजीता खेलाडी हरुलाई बधाई शुभकामना मन्तव्य दिनुभयो। आचार्यले खेलकुदले विद्यार्थीहरुमा अनुशासन, नेतृत्व क्षमता र टिमवर्क सिक्न सहयोग पुग्ने बताउनुभयो ।
त्यस्तै काठमाडौँ जिल्ला प्याब्सनका अध्यक्ष नवराज भट्टले खेलाडिहरुलाई शुभकामना दिनुभयो। भट्टले बास्केटबल प्रतियोगिताले खेलकुद विकास तथा विद्यार्थीहरुमा अनुशासन, आत्मविश्वास वृद्धि हुने बताउनुभयो ।