शनिवार, पौष १२ २०८२
१२ पुष / काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाले विदेशमा अध्ययन गर्न जाने तथा अध्ययनरत विद्यार्थीहरूका लागि वैदेशिक अध्ययन अनुमति पत्र (NOC) सम्बन्धी सेवा सहजीकरण गर्न गुनासो तथा विद्यार्थी सहायता कक्ष सञ्चालन गरेको छ। वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी)मा आइपरेका समस्या तथा गुनासोहरुको सुनुवाइ गरी सेवा प्रवाहमा सहजता प्रदान गर्ने उदेश्यले गुनासो तथा विद्यार्थी सहायता कक्ष सञ्चालन गरेको हो।
विदेशमा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमति पत्र (NOC) आवश्यक पर्ने विद्यार्थीहरूले मन्त्रालयको NOC अनलाइन पोर्टलमार्फत आवेदन दिई अनुमति पत्र प्राप्त गर्दै आएका छन्। यसैक्रममा, NOC लिई विभिन्न देशमा उच्च शिक्षा अध्ययन गर्न जाने, अध्ययन गरिरहेका वा अध्ययनका क्रममा रहेका विद्यार्थीहरूलाई NOC सम्बन्धी देखिएका समस्या तथा गुनासोहरूको सुनुवाइ गर्न मन्त्रालयले गुनासो तथा विद्यार्थी सहायता कक्षको व्यवस्था गरेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार, सेवा प्रवाहलाई सहज, प्रभावकारी र विद्यार्थीमैत्री बनाउन उक्त सहायता कक्षमार्फत समस्या समाधानको पहल गर्दै NOC सम्बन्धी कुनै पनि समस्या, जिज्ञासा वा गुनासो भएमा विद्यार्थीहरूले शाखाको फोन नम्बर ०१–६६३५४१९ मा सम्पर्क गर्न वा noc@moest.gov.np ईमेल ठेगानामा आफ्नो समस्या पठाउन सक्ने व्यवस्था गरिएको जानकारी दिएको छ।